काठमाडौँ – गृह मन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। तर प्रहरीले लिखित आदेशको प्रतिक्षा गरिरहेको हुँदा तत्काल पक्राउ प्रक्रिया अघि बढेको छैन।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले मातहत टोलीलाई हाई अलर्टमा राखेका छन्। भक्तपुर प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध महाशाखाको टोली ओली निवासमा निगरानीमा रहेको छ।
प्रहरी प्रधानकार्यालयमा महानिरीक्षक दानबहादुर कार्की, उपत्यका प्रहरी प्रमुख ईश्वर कार्की, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल लगायत उच्च अधिकारीहरूको छलफल भइरहेको छ। प्रहरीले लिखित आदेश पाएपछि मात्रै कानुनी प्रक्रिया अघि बढाउने अडान राखेको छ।
यसअघि गृह मन्त्रालयमा पनि जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको विषयमा छलफल भएको थियो। मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको भए पनि सुरक्षाकर्मीको हकमा थप अध्ययन समितिको रायको आधारमा मात्रै कार्यान्वयन हुने बताइएको छ।
प्रतिवेदनअनुसार तत्काल कार्यान्वयन हुने व्यक्ति भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, र तत्कालीन काठमाडौँ प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल हुन्।