विपत्तिमा मातृभूमिको साथ : कतारका नेपाली व्यवसायीले जुटाए ३८ लाखभन्दा बढी राहत सहयोग
दोहा, कतार । नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडामा मल्हम लगाउन कतारमा रहेका नेपाली व्यवसायीहरू एकजुट भएका छन्। नेपाली व्यवसायी संघ कतारको पहलमा बाढी तथा विपद् प्रभावित नागरिकका लागि रु. ३८ लाख २६ हजार ३ सय ९ सहयोग संकलन गरिएको छ।
विदेशमा रहेर व्यवसाय सञ्चालन गरिरहेका नेपालीहरूले आफ्नो व्यावसायिक सफलतासँगै मातृभूमिप्रतिको सामाजिक उत्तरदायित्व र मानवीय कर्तव्यलाई समेत प्राथमिकता दिँदै उदाहरणीय सहयोग प्रस्तुत गरेका हुन्।
संकलित रकम नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाई नेतृत्वको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। सहयोग हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष नरेन्द्र भाट, सचिव सुनिल घिमिरे र सहकोषाध्यक्ष रामकुमार श्रेष्ठको सहभागिता थियो।
संघका अनुसार ४२ जना व्यवसायी तथा सहयोगी संस्था/व्यक्तिहरूबाट रकम संकलन गरिएको हो। संकलित सहयोगमध्ये सफारी मलले मात्रै रु. १० लाख ४५ हजार प्रदान गरेको छ, जुन अभियानमा प्राप्त सबैभन्दा ठूलो व्यक्तिगत/संस्थागत सहयोग हो।
रकम हस्तान्तरण गर्दै अध्यक्ष चम्लागाईले विपत्तिको समयमा पीडित नागरिकको साथमा उभिनु व्यवसायीको मानवीय, सामाजिक तथा राष्ट्रिय दायित्व भएको बताए। विदेशमा रहे पनि नेपालीहरूको मन र भावना मातृभूमिसँगै रहेको उल्लेख गर्दै उनले संकलित रकम पारदर्शी रूपमा सरकारलाई हस्तान्तरण गरिएको बताए।
उनले नेपाली व्यवसायीहरूलाई केवल व्यवसाय र आर्थिक गतिविधिसँग मात्र जोडेर हेर्न नहुने बताउँदै देश संकटमा पर्दा विदेशमा रहेका नेपाली व्यवसायीहरू पनि सहयोग र सहकार्यका लागि अग्रपंक्तिमा उभिँदै आएको बताए।
“मातृभूमि पीडामा हुँदा विदेशमा रहेर पनि आफ्नो जिम्मेवारी पूरा गर्नु हाम्रो कर्तव्य हो,” भन्ने भावनासहित अघि बढाइएको यो अभियानले कतारमा रहेका नेपाली व्यवसायीहरूको सामाजिक संवेदनशीलता र राष्ट्रिय प्रतिबद्धतालाई उजागर गरेको छ।
अध्यक्ष चम्लागाईले आगामी दिनमा पनि नेपालमा लगानी प्रवर्द्धन, सामाजिक सहयोग, मानवीय सेवा तथा आपत्कालीन राहतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कतार सरकारमा औपचारिक रूपमा दर्ता भएको पहिलो नेपाली संघका रूपमा परिचित नेपाली व्यवसायी संघ कतारले नेपाली व्यवसायीहरूको हकहित संरक्षणसँगै नेपालमा लगानी भित्र्याउने, सामाजिक सेवा विस्तार गर्ने तथा विपत्तिमा परेका नेपालीको सहयोगमा हातेमालो गर्ने कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
नेपालमा विपत्तिको खबर सुन्नासाथ विदेशमा रहेका नेपाली समुदायबाट सहयोगको हात अघि बढ्नुले भौगोलिक दूरीले मातृभूमिप्रतिको माया र जिम्मेवारीलाई रोक्न नसक्ने सन्देश दिएको छ।
कतारका नेपाली व्यवसायीहरूको यो सहयोग रकम मात्र नभई दुःखमा परेका नेपाली नागरिकप्रतिको ऐक्यबद्धता, माया र मानवीय संवेदनाको बलियो उदाहरण बनेको छ।