राहदानी खरिद प्रक्रियामाथि अनुसन्धान, अख्तियारको नियन्त्रणमा अर्याल र थापा

theoutsidenepal.com

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। उनलाई सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बालुवाटारबाट नियन्त्रणमा लिइएको हो।


प्राप्त जानकारीअनुसार नयाँ राहदानी छपाइ प्रक्रियामा देखिएको ढिलासुस्ती तथा सम्बन्धित विषयमा छलफल गर्न प्रधानमन्त्री कार्यालयले अर्याललाई बालुवाटार बोलाएको थियो। सोही विषयमा प्रधानमन्त्री कार्यालय र अख्तियारबीच पनि छलफल भएको बताइएको छ।


प्रधानमन्त्री कार्यालय पुगेका अर्याललाई त्यहीबाट अख्तियारले नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाएको हो। उनीमाथि राहदानी छपाइ तथा खरिद प्रक्रियासँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको स्रोतले जनाएको छ।


यसैबीच, अख्तियारले व्यवसायी सिद्धार्थ थापा लाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। सिद्धार्थ, नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य Sunil Thapa का छोरा हुन्।


अख्तियारले घटनासम्बन्धी थप विवरण सार्वजनिक गरिसकेको छैन। अनुसन्धान जारी रहेकाले पक्राउको कारण, सम्भावित आरोप तथा संलग्नताको विषयमा आयोगको औपचारिक धारणा आउन बाँकी रहेको छ।


यस घटनाले राहदानी छपाइ तथा सार्वजनिक खरिद प्रक्रियाको पारदर्शिता र प्रभावकारितामाथि पुनः प्रश्न उठाएको छ। अख्तियारको अनुसन्धानबाट यस प्रकरणका थप तथ्यहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया