हङकङमा “हिमालयन किचन” सञ्चालनमा, नेपाली स्वाद र संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य
हङकङको साङ्घाई स्ट्रीटमा सफलतापूर्वक सञ्चालन भइरहेको चर्चित “हिमालयन रेष्टुरेण्ट एण्ड बार” पछिको दोस्रो शाखा “हिमालयन किचन” औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपाली स्वाद, संस्कृति र आतिथ्यतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको उक्त रेष्टुरेण्टको उद्घाटन भव्य रूपमा सम्पन्न भएको हो ।
रेष्टुरेण्ट सफल व्यवसायी तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) की महिला उपाध्यक्ष टीका गुरुङद्वारा सञ्चालनमा ल्याइएको हो । “हिमालयन किचन” लाई हङकङस्थित नेपाली समुदायले विशेष चासोका साथ स्वागत गरेका छन् ।
उद्घाटन कार्यक्रममा प्रवासी नेपाली समुदाय, व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै टीका गुरुङले नेपाली खानाको मौलिक स्वाद, नेपाली संस्कृति र आतिथ्यतालाई विश्व बजारमा थप स्थापित गर्ने उद्देश्यले “हिमालयन किचन” सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले प्रवासमा नेपाली व्यवसायको विस्तारले नेपाली पहिचानलाई समेत मजबुत बनाउने धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी, प्रकाश पुनले नेपाली उद्यमशीलता विश्वभर विस्तार भइरहेको उल्लेख गर्दै नेपाली स्वाद र संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने अभियानमा “हिमालयन किचन” महत्वपूर्ण केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।
“हिमालयन किचन” सञ्चालनमा आएपछि हङकङमा नेपाली परिकारप्रतिको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ ।