अमेरिकाको नयाँ भिसा नियम : ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी अनिवार्य

theoutsidenepal.com

काठमाडौं—आगामी जनवरी २१, २०२६ देखि नेपाली नागरिकले अमेरिकाको व्यवसायिक (B-1) वा पर्यटक (B-2) भिसा आवेदन गर्दा भिसा धरौटी (Visa Bond) राख्नुपर्ने नयाँ नियम लागू हुने भएको छ। नयाँ व्यवस्थाअनुसार भिसा स्वीकृत भएपछि ५,००० देखि १५,००० अमेरिकी डलरसम्म धरौटी रकम माग गर्न सकिने बताइएको छ।


नयाँ नियम अनुसार धरौटी रकम भिसा अफिसरले औपचारिक रूपमा मागेपछि मात्र तिर्नुपर्नेछ। कुनै पनि अवस्थामा तेस्रो पक्ष, एजेन्ट वा अनधिकृत व्यक्तिलाई रकम दिन नहुने स्पष्ट गरिएको छ। धरौटी रकम तिरेकै आधारमा भिसा स्वीकृत हुने ग्यारेन्टी भने नहुने जनाइएको छ।


धरौटी रकम निम्न अवस्थाहरूमा फिर्ता हुने व्यवस्था गरिएको छः


  • भिसा स्वीकृत भएपछि नियमअनुसार अमेरिका भ्रमण गरी समयमै फर्किएमा,
  • भिसा अस्वीकृत भएमा,
  • भिसाको म्याद सकिएपछि अमेरिका छाडेमा।



अमेरिकी प्रशासनले यो व्यवस्था भिसा ओभरस्टे दर घटाउन र आप्रवासन प्रणालीलाई थप कडाइ र व्यवस्थित बनाउन लागू गरेको जनाएको छ। नियमअनुसार भिसाको सर्त उल्लङ्घन नगरी अमेरिका छाड्ने सुनिश्चितता दिन यो कदम चालिएको बताइएको छ।


यो नयाँ भिसा धरौटी नीति नेपाल, भुटान, बंगलादेशलगायत दक्षिण एसियाली राष्ट्रहरू सहित ३८ देशका नागरिकहरूमा लागू हुने गरी विस्तार गरिएको हो।


अमेरिकाको न्यूयोर्कमा कार्यरत कानुन व्यवसायी बासु फुलाराका अनुसार यो व्यवस्था महत्वपूर्ण वित्तीय सुरक्षा उपाय हो। उनले भिसा अफिसरको औपचारिक निर्देशनबिना कुनै पनि रकम नतिर्न, तेस्रो पक्षलाई भुक्तानी नगर्न र फिर्ता प्रक्रियासम्बन्धी सबै नियम सावधानीपूर्वक पालना गर्न विशेष आग्रह गरेका छन्।


नयाँ नियम लागू भएसँगै नेपालबाट अमेरिका भ्रमण, व्यवसाय, परिवार भेटघाट वा पर्यटनका उद्देश्यले जाने योजनामा रहेका नागरिकहरूले यात्राको लागत, तयारी र कानुनी प्रक्रियाबारे थप सचेत र व्यवस्थित हुनुपर्ने देखिएको छ।


प्रतिक्रिया