युवा नेता तथा व्यवसायी लोकनाथ अधिकारी ले देशमा पछिल्लो समय एकपछि अर्को काण्ड सार्वजनिक भइरहेका भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यी घटनाहरू केवल हल्ला मात्र हुन् कि वास्तवमै देश लुटिएको प्रमाण हुन् भन्नेबारे स्पष्ट सत्य बाहिर आउनुपर्ने बताएका छन्।
उनले गिरिबन्दु रियल स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, ओम्नी, यति, पशुपतिनाथ सुन जलहरी, ३३ किलो सुन तस्करीदेखि बालुवाटार–ललिता निवास, झापा दमक टावर, बुढीगण्डकी, सहकारी काण्ड लगायतका विभिन्न विवादास्पद प्रकरणहरूको उल्लेख गर्दै यस्ता घटनाहरूले जनतामा गहिरो आशंका र अविश्वास सिर्जना गरेको बताए।
अधिकारीले जनताले अब केवल राजनीतिक आरोप–प्रत्यारोप होइन, तथ्यमा आधारित स्पष्ट सत्य चाहेको उल्लेख गरे। “न त कसैको अनावश्यक चरित्र हत्या होस्, न त दोषीहरू राजनीतिक संरक्षणमा जोगिन पाऊन्,” उनले भनेका छन्।
उनका अनुसार कानुन सबैका लागि बराबर हो भन्ने कुरा व्यवहारमा देखिन जरुरी छ। त्यसका लागि प्रत्येक प्रकरणमा निष्पक्ष अनुसन्धान र निष्पक्ष कारबाही अनिवार्य हुनुपर्ने उनले जोड दिएका छन्।
अधिकारीले काण्डहरूको सूची गन्नेभन्दा पनि सत्य र न्याय स्थापित गर्ने कामलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै राज्य संयन्त्रलाई पारदर्शिता र जवाफदेहिताको दिशामा अगाडि बढ्न आग्रह गरेका छन्।