सर्वस्व गुमाएकी बाढीपीडित विष्णुकुमारीको जीवन बचाउँदै नेता सुनील शर्मा: केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण प्रक्रिया सुरु

theoutsidenepal.com

सर्वस्व गुमाएकी बाढीपीडित विष्णुकुमारीको जीवन बचाउँदै नेता सुनील शर्मा: केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण प्रक्रिया सुरु

काठमाडौं — बाढीले घरबार मात्रै बगाएन, वर्षौंसम्म थोपा–थोपा जोडेर उपचारका लागि राखेको सर्वस्वसमेत खोसेपछि जीवन र मृत्युको दोसाँधमा पुगेकी ४१ वर्षीया विष्णुकुमारी डंगोलका लागि जीवनको नयाँ किरण उदाएको छ। काठमाडौं मेडिकल कलेज (केएमसी) मा उनको निःशुल्क मिर्गौला प्रत्यारोपण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।

केही समयअघिको विनाशकारी बाढीले विष्णुकुमारीको परिवारको उठिबास लगायो। उपचारका लागि जुटाइएको सम्पूर्ण आर्थिक स्रोत बगाएपछि यो परिवार गहिरो शोकसँगै उपचार पाउन नसक्ने चिन्तामा डुबेको थियो। आर्थिक अभावले जटिल रोगको उपचार रोकिने र जीवनै संकटमा पर्ने अवस्था आएपछि यो विपत्तिपूर्ण घडीमा मसीहा बनेर उभिएका छन्— नेपाली कांग्रेसका नेता तथा केएमसीका सञ्चालक सुनील शर्मा।

केएमसीको आफ्नै कार्यालयमा बिरामी विष्णुकुमारी, उनका श्रीमान् राजकुमार डंगोल र उनीहरूका छोरालाई सान्त्वना दिँदै नेता शर्माले मिर्गौला प्रत्यारोपणमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले व्यहोर्ने घोषणा गरे। उपचार खर्च मात्र होइन, अस्पतालमा रहँदा बिरामी र कुरुवाका लागि निःशुल्क खानाको समेत व्यवस्था मिलाइदिएपछि शोकाकुल परिवारमा सान्त्वनाको शीतलता छाएको छ।

नेता शर्मा र केएमसीले दिएको यो गम्भीर मानवीय सहयोगबाट भावविभल बनेका श्रीमान् राजकुमारले कठिन घडीमा आफूहरूले भगवान् नै भेटेको प्रतिक्रिया दिए। भक्कानिँदै उनले भने, "हाम्रो सर्वस्व बगायो भन्ने पीडा त छँदै थियो, तर आज भगवानरुपी सुनील सरले हामीलाई नयाँ जीवन दिनुभयो। संसारमा सत्कर्म गर्ने मानिस अझै जीवित छन् भन्ने महसुस भएको छ। उहाँलाई हाम्रो हृदयको अन्तस्करणबाट कोटी–कोटी धन्यवाद छ।"

विपद्को समयमा पीडित नागरिकको पीडालाई आफ्नै परिवारको पीडाझैँ आत्मसात् गर्ने नेता शर्माले यसअघि नै बाढीपीडितहरूका लागि आफ्नो अस्पतालका ढोकाहरू निःशुल्क खुला रहने घोषणा गरिसकेका छन्। "पैसा नभएका कारण कुनै पनि नेपालीले अकालमा ज्यान गुमाउनु पर्दैन," उनको यो दृढ मान्यताले आज विष्णुकुमारी जस्ता सयौँ विपन्न बिरामीहरूका लागि जीवनको सहारा बनेको छ।

केएमसी अस्पतालका अनुसार, बिरामी अस्पतालमा भर्ना भएदेखि सफल प्रत्यारोपण सम्पन्न भई डिस्चार्ज हुँदासम्मको सम्पूर्ण चिकित्सा सेवा, औषधि र बेड चार्ज पूर्ण रूपमा निःशुल्क हुनेछ। आधुनिक चिकित्सा विज्ञानमा अत्यन्तै महँगो मानिने मिर्गौला प्रत्यारोपण सेवा विपन्न परिवारका लागि पूर्णतः निःशुल्क भएपछि डंगोल परिवारमा खुसी फर्केको छ। नेता शर्माले भनेका छन्, "भगवानको आशिर्वादले अबको केही सातामै विष्णुकुमारी पूर्ण रूपमा स्वास्थ्य लाभ गरेर हँसिलो अनुहारसहित घर फर्किनेछिन्।"

प्रतिनिधिसभा सदस्य रहँदा राज्यबाट लिने सेवा–सुविधा र तलब–भत्तासमेत नलिएर समाजसेवामा अर्पण गर्ने नेता शर्मा मानवीयता र परोपकारका पर्याय बनिसकेका छन्। गम्भीर प्रकृतिका बिरामीहरूको निःशुल्क उपचार, देशका दूरदराजमा निःशुल्क स्वास्थ्य शिविर, र विपद्का बेला अग्रपंक्तिमा खटिएर राहत वितरण गर्ने उनको बानीले आज हजारौँको जीवन बचाएको छ। कठिन परिस्थितिमा छटपटाइरहेकी एक बाढीपीडित आमाको जीवन रक्षाका लागि सुनील शर्माले चालेको यो कदम नेपाली समाजका लागि एउटा उदाहरणीय र अनुकरणीय मानवीय प्रेमको दीप बनेको छ।

प्रतिक्रिया