प्रधानमन्त्री शाहको नेतृत्वमा १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल यूएन महासभामा सहभागी हुँदै

theoutsidenepal.com

प्रधानमन्त्री शाहको नेतृत्वमा १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल यूएन महासभामा सहभागी हुँदै

द टन न्युज । काठमाडौं

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १४ सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह सेप्टेम्बर २२ मा न्युयोर्क प्रस्थान गर्नेछन् र सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय General Debate लाई सम्बोधन गर्ने कार्यक्रम छ। 

प्रधानमन्त्री शाहको नेतृत्वमा रहने प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्। परराष्ट्र मन्त्रालयले प्रतिनिधिमण्डलमा १४ सदस्य रहने जानकारी दिएको छ। 

महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल भने सेप्टेम्बर २० मै न्युयोर्क प्रस्थान गर्दैछन्। उनले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, मन्त्रीस्तरीय कार्यक्रम तथा साइड इभेन्टमा सहभागिता जनाउनेछन्। साथै, उनले विभिन्न देशका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। 

यसपटक नेपालले महासभालाई जलवायु परिवर्तन, हिमाली क्षेत्रको जोखिम, जलवायु वित्त तथा जलवायुजन्य विपद्बाट भएको क्षतिका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने महत्वपूर्ण मञ्चका रूपमा प्रयोग गर्ने तयारी गरेको छ। परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार नेपालले जलवायुजन्य क्षति तथा नोक्सानीका लागि अन्तर्राष्ट्रिय सहयोग, अनुकूलन वित्त र हिमालय संरक्षणका विषयमा जोड दिनेछ। 

विशेषगरी भोटेकोशी–त्रिशूली नदी प्रणालीमा भएको विनाशकारी बाढी तथा त्यसबाट उत्पन्न मानवीय र भौतिक क्षतिलाई अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने विषय पनि नेपालको प्राथमिकतामा रहनेछ। प्रधानमन्त्री शाहले न्युयोर्कमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय General Debate सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कमा हुँदैछ। नेपालका प्रधानमन्त्री शाह सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्नेछन्। 

प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा काठमाडौं फर्किने कार्यतालिका छ। परराष्ट्रमन्त्री खनाल भने महासभासँग सम्बन्धित थप उच्चस्तरीय तथा द्विपक्षीय कार्यक्रम सम्पन्न गरी सेप्टेम्बर २९ मा नेपाल फर्किने कार्यक्रम रहेको जनाइएको छ। 


प्रतिक्रिया