राष्ट्रिय स्वतन्त्र पार्टीको ‘परिवर्तन उद्घोष सभा’ भोली धनगढीमा

theoutsidenepal.com

धनगढी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोली धनगढीमा ‘परिवर्तन उद्घोष सभा’ आयोजना गर्ने भएको छ। पार्टीले सार्वजनिक गरेको तालिका अनुसार कार्यक्रम बिहान ११ बजे सुरु भई दिउँसो १ बजे समापन हुनेछ।


सार्वजनिक गरिएको एकीकृत कार्यक्रम तालिका अनुसार सभाको प्रारम्भ राष्ट्रिय गान, शहीदप्रति श्रद्धाञ्जली तथा स्वागत मन्तव्यबाट हुनेछ। त्यसपछि उम्मेदवारहरूको सम्बोधन, सांस्कृतिक प्रस्तुति तथा हाइप बिल्डअप कार्यक्रम समावेश गरिने जनाइएको छ।


कार्यक्रमका मुख्य वक्ताका रूपमा काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन शाह र रास्वपाका सभापति रवि लामिछाने सहभागी हुनेछन्। तालिका अनुसार दिउँसो १२:३० बजे बालेन शाहले १५ मिनेट विशेष सम्बोधन गर्नेछन् भने १२:४५ बजे रवि लामिछानेले १५ मिनेट प्रमुख सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।


आयोजकका अनुसार सभा अनौपचारिक तथा उच्च ऊर्जा शैलीमा सञ्चालन गरिनेछ। कार्यक्रम १ बजे समापन भई समूह तस्वीरसहित सम्पन्न गरिनेछ।


रास्वपाले धनगढीपछि क्रमशः सुर्खेत, भैरहवा, पोखरा, चितवन र इटहरीमा समेत ‘परिवर्तन उद्घोष सभा’ आयोजना गर्ने जनाएको छ।


प्रतिक्रिया