नर्सिङ सुधारका लागि अभियन्ता ज्योति रानाभाट भोलिदेखि अनिश्चितकालीन सत्याग्रहमा बस्ने

theoutsidenepal.com

नर्सिङ सुधारका लागि अभियन्ता ज्योति रानाभाट भोलिदेखि अनिश्चितकालीन सत्याग्रहमा बस्ने

काठमाडौं— नर्सिङ शिक्षा तथा सेवा सुधार अभियानकी अभियन्ता नर्स ज्योति रानाभाटले नर्सिङ पेशामा देखिएको बेथिति, विभेद, अन्याय, श्रमशोषण तथा भ्रष्टाचारविरुद्ध पुनः आन्दोलनको घोषणा गरेकी छन्। उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा १५ बुँदे मागपत्र पेश गर्दै हिजो दिउँसो ३ बजेदेखि नेपाल नर्सिङ परिषद्को परिसरमा अनिश्चितकालीन सत्याग्रह (अनशन) सुरु गर्ने घोषणा गरेकी हुन्।

रानाभाटले विगत करिब एक दशकदेखि नर्सहरूको आत्मसम्मान, सम्मानजनक पारिश्रमिक, गुणस्तरीय नर्सिङ शिक्षा तथा सुरक्षित स्वास्थ्य सेवाको सुनिश्चितताका लागि निरन्तर संघर्ष गर्दै आएको बताएकी छन्। उनका अनुसार २०७२ असोज ३० गतेदेखि सुरु भएको अभियानका क्रममा नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विभिन्न समयमा सहमति र निर्णय भए पनि ती कार्यान्वयन हुन सकेका छैनन्।


उनले विशेषगरी २०८२ असोजमा भएको सहमतिपछि आन्दोलन स्थगित गरिएको र सबै नर्सलाई नेपाल सरकारसरह तहगत पारिश्रमिक उपलब्ध गराउने अपेक्षा गरिएको भए पनि लामो समयसम्म कुनै ठोस कार्यान्वयन नभएकाले पुनः आन्दोलनमा उत्रिन बाध्य भएको बताइन्।

आन्दोलन स्थगित रहेको अवधिमा पनि सम्बन्धित निकायसँग निरन्तर संवाद र सकारात्मक दबाबमार्फत माग कार्यान्वयन गराउन प्रयास गरिएको भए पनि सरकारबाट कुनै प्रभावकारी कदम नचालिएको रानाभाटको भनाइ छ।


मागपत्र पेश गर्दै उनले भनिन्, “पटक–पटक जीवित लास बनेका नर्सहरूको आवाज कसैले सुनेन। नर्सलाई सम्मानजनक पारिश्रमिक दिन सरकार र स्वास्थ्य संस्थाहरू तयार देखिएनन्। त्यसैले अब निर्णायक आन्दोलनमार्फत नर्सहरूको अधिकार, सम्मान र जिम्मेवारीसहितको पेशागत हैसियत स्थापित गरेरै छाड्ने प्रण गरेकी छु।”

उनका अनुसार यो आन्दोलन व्यक्तिगत स्वार्थका लागि नभई सम्पूर्ण नर्सिङ समुदाय, बिरामीको सुरक्षा, गुणस्तरीय स्वास्थ्य सेवा तथा नेपालको समग्र स्वास्थ्य प्रणाली सुधारका लागि गरिएको हो।

अभियानले सरकारसँग १५ बुँदे माग तत्काल कार्यान्वयन गर्न, नर्सिङ पेशामाथिको विभेद अन्त्य गर्न, नेपाल सरकारसरह पारिश्रमिक सुनिश्चित गर्न, सुरक्षित कार्य वातावरण सिर्जना गर्न तथा नर्सिङ शिक्षा र सेवामा देखिएका संरचनागत समस्या समाधान गर्न माग गरेको छ।


प्रतिक्रिया