गिरिजाबाबुको आदर्शलाई आत्मसात् गर्दै फाउन्डेसनलाई जनसेवाको प्रभावकारी माध्यम बनाउने डा. सुनिल शर्माको संकल्प
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं व्यवसायी डा. सुनिल कुमार शर्माले गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी सम्हालेसँगै आफूले पाएको जिम्मेवारीलाई केवल पदका रूपमा नभई ठूलो राजनीतिक, सामाजिक र भावनात्मक दायित्वका रूपमा लिएको बताएका छन्।
फाउन्डेसनको सभापतिको जिम्मेवारी प्रदान गरेकोमा फाउन्डेसन परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै डा. शर्माले विशेषगरी निवर्तमान सभापति सुजाता कोइरालाप्रति धन्यवाद ज्ञापन गरेका छन्। साथै, कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाली कांग्रेसका सभापति गगनकुमार थापाप्रति समेत उनले कृतज्ञता व्यक्त गरेका छन्।
डा. शर्माले आफ्ना राजनीतिक अभिभावक तथा पितातुल्य नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाम र आदर्शसँग जोडिएको संस्थाको नेतृत्व गर्नु आफ्ना लागि गौरवसँगै गम्भीर जिम्मेवारी भएको उल्लेख गरेका छन्।
उनले आफ्नो विवेक, क्षमता र सामर्थ्यले भ्याएसम्म फाउन्डेसनलाई जनसेवा, लोकतन्त्र र सामाजिक उत्तरदायित्वको प्रभावकारी माध्यम बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘मेरो काम देखेर स्वर्गमा रहनुभएका गिरिजाबाबुको चित्त प्रसन्न हुने गरी काम गर्ने मेरो प्रयास रहनेछ’ भन्ने भावनासहित डा. शर्माले फाउन्डेसनको उद्देश्यलाई व्यवहारमा उतार्ने दृढ संकल्प व्यक्त गरेका छन्।
१ हजार गरिब तथा असहाय बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा
सभापतिको जिम्मेवारी ग्रहण गरेकै अवसरमा डा. शर्माले सामाजिक सेवातर्फ महत्वपूर्ण घोषणा समेत गरेका छन्।
उनले KMC दुवाकोट र नोबेल मेडिकल कलेजमार्फत यस वर्ष १ हजार जना गरिब, असहाय तथा उपचारको पहुँचबाट वञ्चित बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका हुन्।
राजनीतिक नेतृत्वसँगै सामाजिक सेवामा समेत सक्रिय रहँदै आएका डा. शर्माको यो घोषणालाई स्वास्थ्य सेवाबाट वञ्चित नागरिकका लागि महत्वपूर्ण राहतका रूपमा हेरिएको छ।
गिरिजाप्रसाद कोइरालाको लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र जनसेवाको भावनालाई केन्द्रमा राख्दै फाउन्डेसनलाई थप सक्रिय, जनमुखी र सेवामूलक बनाउने डा. शर्माको प्रतिबद्धताले आगामी दिनमा संस्थाको भूमिका अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।