कैलाली, अत्तरिया — प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी माहोल तातेको छ। काठमाडौंबाट गाडी नै रिजर्भ गरेर युवाहरूको टोली कैलाली–४ पुगेसँगै प्रचार–प्रसारले थप गति लिएको छ।
“Welcome to Kailali Chetra No. 4… Vote for Tree” भन्ने नारासहित युवाहरूले नेपाली कांग्रेसको चुनाव चिन्ह रुख मा मतदान गर्न अपिल गर्दै घरदैलो तथा भेटघाट कार्यक्रमलाई सक्रिय बनाएका छन्।
कैलाली–४ का उम्मेदवार तथा नेपाली कांग्रेसका प्रभावशाली नेता गोरख बहादुर बिष्ट ‘आनन्द’ को पक्षमा युवापंक्ति खुलेर मैदानमा उत्रिएको देखिन्छ। काठमाडौंमा अध्ययन, रोजगारी तथा व्यवसाय गर्दै आएका समर्थकहरू विशेष अभियानका साथ जिल्लामा पुगेका हुन्।
युवाहरूले विकास, रोजगारी सिर्जना, पूर्वाधार सुधार तथा सुशासनका एजेण्डालाई अगाडि सार्दै बिष्टको जित सुनिश्चित गर्न आफूहरू सक्रिय रूपमा लागिपरेको बताएका छन्।
स्थानीयस्तरमा पनि चुनावी गतिविधि तीव्र बन्दै गएको छ। गाउँ–टोलमा भेटघाट, घरदैलो तथा कोणसभा कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन्। समर्थकहरूका अनुसार यसपटक कैलाली–४ मा परिवर्तनको नेतृत्व कांग्रेसले गर्ने विश्वास बलियो बन्दै गएको छ।
चुनावी सरगर्मी बढ्दै जाँदा युवाहरूको सक्रिय उपस्थितिले कैलाली–४ मा कांग्रेसको पक्षमा माहोल अझ सशक्त बन्दै गएको देखिएको छ।