सान फ्रान्सिस्कोमा एनआरएनए अमेरिका नेतृत्वको भव्य स्वागत
अमेरिकाको बे एरियामा आयोजना हुन गइरहेको “नेपाल डे परेड २०२६” लाई लक्षित गर्दै Non-Resident Nepali Association अन्तर्गत एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष Satendra Shah तथा कोषाध्यक्षसहितको टोलीलाई सान फ्रान्सिस्कोमा भव्य स्वागत गरिएको छ।
“#NepalDayParade2026” र “#BayAreaNepali” अभियानमार्फत नेपाली कला, संस्कृति, पहिचान र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा अमेरिकाभर रहेका नेपाली समुदायको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।
स्वागत कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता, व्यवसायी, युवा प्रतिनिधि तथा नेपाली समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले एनआरएनए अमेरिकाको नेतृत्वले नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपाली भाषा, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष Satendra Shah ले नेपाल डे परेड केवल उत्सव मात्र नभई नेपालीहरूको गौरव, पहिचान र एकताको प्रतीक भएको उल्लेख गर्दै विश्वभर रहेका नेपालीहरूलाई एकताबद्ध भएर सहभागिता जनाउन आग्रह गर्नुभयो।
बे एरियामा आयोजना हुने नेपाल डे परेड २०२६ लाई यस वर्ष अझ भव्य, सभ्य र ऐतिहासिक बनाउने तयारी भइरहेको आयोजकले जनाएको छ। नेपाली झण्डा, सांस्कृतिक झाँकी, मौलिक कला प्रस्तुति तथा समुदायको सक्रिय सहभागिताले कार्यक्रमलाई विशेष बनाउने विश्वास गरिएको छ।
नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र राष्ट्रिय पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस्ता कार्यक्रमले विदेशमा रहेका नेपालीहरूलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरिएको छ।