बाँकेका एसपी अंगुर जिसी सर्वोत्कृष्ट अनुसन्धानकर्ता घोषित
काठमाडौं, १६ असार — बाँके जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ अन्तर्गत आयोजित ‘बेस्ट इन्भेस्टिगेशन शोकेस’ मा सर्वोत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय तथा अपराध अनुसन्धान विभागको संयुक्त आयोजनामा सम्पन्न गोष्ठीमा उत्कृष्ट अनुसन्धान प्रस्तुत गरेबापत एसपी जिसीलाई अवार्ड र कदरपत्रसहित सम्मान गरिएको हो।
गोष्ठीमा लुम्बिनी प्रदेशअन्तर्गतका जिल्ला प्रहरी कार्यालय तथा अनुसन्धान इकाइहरूले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न अपराध अनुसन्धान, त्यसक्रममा आएका चुनौती, उत्कृष्ट अभ्यास तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा अनुसन्धानलाई थप वैज्ञानिक, प्रमाणमा आधारित, प्रविधिमैत्री र पीडितमैत्री बनाउने विषयमा समेत व्यापक छलफल भएको आयोजकले जनाएको छ।
यस वर्ष पहिलो पटक सञ्चालन गरिएको ‘बेस्ट इन्भेस्टिगेशन शोकेस’ मार्फत जिल्लाहरूले आफ्ना उत्कृष्ट अनुसन्धानका अनुभव, रणनीति, नवीन अभ्यास तथा सिकाइहरू आदानप्रदान गरेका थिए। उत्कृष्ट अनुसन्धान प्रस्तुत गर्ने टोलीलाई ‘उत्कृष्ट अनुसन्धान सम्मान’ प्रदान गरिएको थियो।