जापानमा नेपाली व्यवसायीको विश्वास जोगाउन भुवन अधिकारीको अपिल
जापान । जापानमा करिब तीन दशकदेखि व्यवसाय गर्दै आएका ग्लोबल सपना ग्रुपका CEO भुवन अधिकारीले नेपाली व्यवसायीबीच आपसी विश्वास, इमानदारी र व्यावसायिक जिम्मेवारी कायम राख्न अपिल गरेका छन्।
अधिकारीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा आफूले एक जापानी नागरिकबाट टोकियोमा व्यवसाय गरिरहेका एक नेपालीसँग सम्बन्धित व्यावसायिक विषयबारे जानकारी प्राप्त गरेको उल्लेख गरेका छन्। आफूलाई केही कागजातसमेत पठाइएको र त्यसमा कम्पनी, रेस्टुरेन्ट तथा सम्बन्धित व्यक्तिको नाम उल्लेख रहेको उनले बताएका छन्।
उनका अनुसार, आफूले सम्बन्धित व्यक्ति, कम्पनी वा रेस्टुरेन्टलाई नचिनेको र घटनाबारे व्यक्तिगत जानकारी नभएको स्पष्ट पारेका थिए। यद्यपि, एक नेपाली व्यवसायीका रूपमा यस्तो विषय सुन्दा आफूलाई दुःख लागेको उनले बताएका छन्।
अधिकारीले आफ्नो सन्देश कसैलाई आरोप लगाउने वा बदनाम गर्ने उद्देश्यले नभएको स्पष्ट गर्दै, कुनै व्यवसायीले सप्लायरबाट सामान लिएर भुक्तानी गर्न बाँकी रहेको अवस्थामा समस्या आए पनि सम्पर्कविहीन भएर नबस्न आग्रह गरेका छन्।
उनले आर्थिक कठिनाइ वा व्यापारमा घाटा हुन सक्ने भए पनि सप्लायरसँग संवाद गरेर समय माग्ने, किस्ताबन्दीमा भुक्तानी गर्ने वा आपसी सहमतिबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार, जापानमा हजारौँ नेपालीले मेहनत र इमानदारीका साथ व्यवसाय गर्दै राम्रो पहिचान बनाइरहेका छन्। तर कुनै एक व्यवसायीको गलत व्यवहारले समग्र नेपाली व्यवसायीप्रतिको विश्वासमा असर पर्न सक्ने उनको भनाइ छ।
“पैसा ठूलो कुरा होइन, तर विश्वास र इज्जत ठूलो कुरा हो,” भन्दै अधिकारीले बाँकी रकम भए सम्बन्धित सप्लायरसँग सम्पर्क गरी समस्या समाधान गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरेका छन्।
जापानमा करिब ३० वर्षदेखि व्यवसाय गर्दै आएको उल्लेख गर्दै अधिकारीले आफ्नो कम्पनी Global Sapana Group र रेस्टुरेन्ट ब्रान्ड Sapana रहेको जानकारी दिएका छन्। व्यवसायमा समस्या आउन सक्ने भए पनि त्यसबाट भाग्नुको सट्टा समाधान खोज्नु नै सही बाटो भएको उनले बताएका छन्।
अधिकारीले सम्बन्धित व्यक्तिसम्म आफ्नो सन्देश पुर्याइदिन जापानमा रहेका नेपाली समुदायलाई समेत आग्रह गरेका छन्।
अन्त्यमा उनले आफ्नो उद्देश्य कसैको बदनाम गर्नु नभई समस्या समाधान, नेपाली व्यवसायीको प्रतिष्ठा संरक्षण र आपसी विश्वास कायम गर्नु रहेको बताएका छन्।