कानुन मन्त्री सोविता गौतमको प्रतिबद्धता: हात्ती आक्रमणमा ज्यान गुमाएकाको परिवारलाई क्षतिपूर्ति, दीर्घकालीन समाधानका लागि अध्ययन समिति गठन

theoutsidenepal.com

कानुन मन्त्री सोविता गौतमको प्रतिबद्धता: हात्ती आक्रमणमा ज्यान गुमाएकाको परिवारलाई क्षतिपूर्ति, दीर्घकालीन समाधानका लागि अध्ययन समिति गठन

चितवन— सोविता गौतमले भरतपुर–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणमा परी २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ।

मन्त्री गौतमले आइतबार घटनास्थलमै पुगेर पीडित परिवार, स्थानीयवासी, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग भेटघाट तथा छलफल गर्नुभएको जानकारी दिनुभएको छ। उहाँले मानव–वन्यजन्तु द्वन्द्वका कारण चितवनवासीले भोग्दै आएका समस्याको तत्कालीन र दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभएको बताउनुभएको छ।

उहाँका अनुसार जंगली हात्तीलगायतका वन्यजन्तुको आक्रमणबाट प्रभावित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढिसकेको छ। साथै, हात्तीको आक्रमणबाट क्षति पुगेको घर पुनर्निर्माणका लागि पनि सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

मन्त्री गौतमले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलाई प्रभावकारी बनाउन चितवन राष्ट्रिय निकुञ्जका वार्डेनको संयोजकत्वमा स्थानीय प्रतिनिधिसहित अध्ययन समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो। उक्त समितिले नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषयमा सुझाव पेश गर्ने र सरकारले सोहीअनुसार आवश्यक कदम चाल्ने उहाँको भनाइ छ।

उहाँले वन्यजन्तु संरक्षण आवश्यक भए पनि संरक्षण नीति मानव जीवनको सुरक्षासँग सन्तुलित हुनुपर्नेमा जोड दिनुभयो। संरक्षणको सफलता वन्यजन्तुको संख्या वृद्धि मात्र नभई मानव र वन्यजन्तुबीच सुरक्षित सहअस्तित्व कायम गर्न सक्नुमा निर्भर रहने उहाँको धारणा छ।

मन्त्री गौतमले क्षतिपूर्ति उपलब्ध गराउनु राज्यको दायित्व भए पनि त्यो मात्र समस्याको समाधान नभएको उल्लेख गर्दै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलाई नीतिगत, कानुनी र संस्थागत रूपमा थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


प्रतिक्रिया