बाढीपीडितको घाउमा मल्हम बने आङ डी शेर्पा, मिंग्मा शेर्पाको मानवीय सहयोगको खुलेर प्रशंसा
युवा समाजसेवी एवं कृतिमानी आरोही आङ डी शेर्पाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विवरणअनुसार, रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा ७ समिट्स क्लब नेपालका अध्यक्ष तथा Altitude Air Helicopter का पार्टनरसिप ओनर मिंग्मा शेर्पाले उल्लेखनीय सहयोग गरेका छन्।
बाढीपीडितको पीडामा साथ दिन शेर्पाले ५०० थान रेन ज्याकेट उपलब्ध गराउनुका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ लाख ११ हजार १११ सहयोग गरेका छन्।
प्राकृतिक विपत्तिले सर्वस्व गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउँदै राज्यको राहत कोषमा समेत आर्थिक योगदान गर्नुले उनको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलतालाई थप उजागर गरेको छ।
आङ डी शेर्पाले मिंग्मा शेर्पाको यो सहयोगलाई “ठूलो मन भएको मानवीय कार्य” भन्दै खुलेर प्रशंसा गरेका छन्। विपत्तिको समयमा आफ्नो व्यवसायिक परिचयभन्दा माथि उठेर पीडित नागरिकको पक्षमा उभिने यस्ता सहयोगी हातहरूले समाजमा आशा र एकताको सन्देश दिने उनको भनाइ छ।
५०० थान रेन ज्याकेटदेखि ५ लाख ११ हजार १११ रुपैयाँसम्मको सहयोग—रसुवाका बाढीपीडितका लागि मिंग्मा शेर्पाको यो योगदान साँच्चिकै सलामयोग्य मानवीय उदाहरण बनेको छ।