मध्यपूर्वमा रहेका नेपालीहरूका लागि उच्च सतर्कता: इरान–मध्यपूर्वमा असामान्य सुरक्षा परिस्थिति
मिति : १ मार्च २०२६, काठमाडौं — इरानमा भएको सैन्य आक्रमण र त्यसको प्रतिकृयाको क्रममा मध्यपूर्वका विभिन्न देशहरूमा विकसित अप्रत्याशित सुरक्षा स्थितिलाई मध्यनजर गर्दै मध्यपूर्वमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरिएको छ।
यो अपिल एनआरएनए आइसीसी (२०२५–२०२७) का अध्यक्ष पदका प्रत्यासी रोबिन प्रसाद शेरचनद्वारा जारी गरिएको ‘अत्यन्त जरुरी सूचना’ मार्फत सार्वजनिक गरिएको हो।
सूचनामा उल्लेख छ कि पछिल्लो समय इरान, इजरायल, कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स (UAE), साउदी अरेबिया र जोर्डनमा असामान्य सुरक्षा अवस्था उत्पन्न भईसकेको छ, जसले स्थानीय नागरिक तथा बिदेशी बसोबासमा रहेका सबैलाई प्रत्यक्ष प्रभावित पार्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
सतर्कताका मुख्य सुझावहरू:
- सुरक्षित आश्रयमा बस्नुस्: आकस्मिक स्थिति वा साइरन बज्ने बित्तिकै नजिकको बम सेल्टर वा घरभित्र सुरक्षित स्थानमा प्रवेश गर्न सूचित गरिएको छ।
- नियम, निर्देशनको पालना: स्थानीय सरकार तथा सुरक्षा निकायले जारी गरेका निर्देशन, कफ्र्यु वा निषेधाज्ञालाई कडाइका साथ पालन गर्ने अनुरोध गरिएको छ।
- आवश्यक बाहेक निस्कनु हुँदैन: स्थिति सामान्य नभएसम्म भीडभाड हुने स्थानमा नजानु र अनावश्यक यात्रा स्थगित गर्न भनिएको छ।
- संचारमा रहनुहोस्: मोबाइल सधैं चार्ज राख्ने, परिवार र नजिकका सम्बन्धीहरूसँग नियमित रूपमा सम्पर्कमा रहन प्राथमिकता दिइएको छ।
- इमर्जेन्सी किट तयारी: राहदानी, परिचयपत्र र केही नगद सहित सानो आपतकालीन झोला तयारी अवस्थामा राख्न सुझाव दिइएको छ।
आधिकारिक सम्पर्क:
सूचनामा उल्लेख छ कि कुनै पनि समस्या वा सहायता आवश्यक परेमा नेपाल सरकारको परराष्ट्र मन्त्रालय, सम्बन्धित देशका नेपाली राजदूतावास तथा एनआरएनएका स्थानीय प्रतिनिधिहरूको आधिकारिक सम्पर्कमार्फत् सहायता लिनुहुन आग्रह गरिएको छ।
विशेष नोटमा सामाजिक सञ्जालमा फैलिने सम्भावित भ्रामक समाचार तथा अफवाहहरूबाट टाढा रहन र केवल आधिकारिक स्रोतमार्फत जानकारी लिन सुझाइएको छ।
समापनमा संदेश दिइएको छ:“आफ्नो सुरक्षामा सम्झौता नगर्नुहोस्। सतर्क रहनुहोस्, सुरक्षित रहनुहोस्।”