दलित समुदायबाट एमबीबीएस उत्तीर्ण गर्दै मेडिकल काउन्सिल लाइसेन्स प्राप्त गर्ने दिपक सुनारलाई मेयर गोपाल हमालको बधाई
धनगढी उपमहानगरपालिका वडा नं. ९ तथा साविक धनगढी उप–महानगरपालिका वडा नं. ८ निवासी दलित समुदायका युवा श्री दिपक सुनारले फिलिपिन्सबाट एमबीबीएस अध्ययन पूरा गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त गर्न सफल भएका छन्। उहाँको यस उल्लेखनीय उपलब्धिप्रति धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको छ।
मेयर हमालले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै दिपक सुनारको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई समग्र दलित समुदाय, सुदूरपश्चिम प्रदेश र धनगढीका लागि प्रेरणादायी उदाहरण भएको उल्लेख गर्नुभएको छ। कठिन संघर्ष, निरन्तर मेहनत र आत्मविश्वासका साथ अन्तर्राष्ट्रिय स्तरमा चिकित्सा शिक्षा हासिल गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त गर्नु अत्यन्त गौरवको विषय भएको उहाँले बताउनुभयो।
मेयर हमालले शिक्षाले समाज परिवर्तन गर्ने उल्लेख गर्दै पछाडि पारिएका समुदायका युवाहरूले अवसर पाए असम्भव केही पनि नरहेको दिपक सुनारले प्रमाणित गरेको बताउनुभयो। उहाँले आगामी दिनमा दिपकले चिकित्सा क्षेत्रमार्फत समाजसेवा गर्दै धेरै युवालाई प्रेरणा दिने विश्वास समेत व्यक्त गर्नुभएको छ।
स्थानीय स्तरबाट अन्तर्राष्ट्रिय शिक्षा हासिल गरी चिकित्सा क्षेत्रमा सफलता प्राप्त गर्नु धनगढीका लागि गर्वको विषय बनेको छ। दिपक सुनारको उपलब्धिले विशेषगरी दलित समुदायका विद्यार्थीहरूलाई उच्च शिक्षा र पेशागत क्षेत्रमा अघि बढ्न थप उत्साह मिल्ने विश्वास गरिएको छ।
मेयर गोपाल हमालले दिपक सुनारलाई सफल चिकित्सकीय यात्राको शुभकामना व्यक्त गर्दै राष्ट्र र समाजको सेवामा समर्पित हुन आग्रह गर्नुभएको छ।