नेपाल टेलिभिजनका खरिद प्रक्रियामाथि छानबिन, समिति गठन
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजन ले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन तथा छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ।
मन्त्रालयको असार १ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार डा. सुदीप भट्टराईको संयोजकत्वमा गठित समितिलाई २१ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिले नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी, गुनासा र सार्वजनिक सरोकारका विषयमा तथ्यपरक अध्ययन गर्नेछ।
समितिलाई ग्राफिक्स सिस्टम, न्यु मिडिया (डिजिटल प्लेटफर्म) सेवा, अडियो–भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको ‘प्लेआउट अटोमेसन सिस्टम’ सम्बन्धी विषयमा विस्तृत अध्ययन गर्ने कार्यादेश दिइएको छ।
उल्लेखित खरिद प्रक्रियासम्बन्धी विभिन्न उजुरी तथा गुनासा प्राप्त भएपछि मन्त्रालयले आन्तरिक जानकारी र सत्यतथ्य मूल्याङ्कनका लागि छानबिन समिति गठन गरेको जनाएको छ।
नेपाल टेलिभिजनमा पछिल्ला वर्षहरूमा प्रविधि तथा प्रसारण प्रणाली आधुनिकीकरणका लागि भएका खरिद प्रक्रियाको पारदर्शिता र कानुनी प्रक्रियाको पालनाबारे विभिन्न प्रश्न उठ्दै आएका छन्। यसअघि पनि मन्त्रालयले स्याटेलाइट खरिद प्रकरणबारे छुट्टै छानबिन समिति गठन गरेको थियो।