दुबईमा पीडित नेपाली चेलीको उद्धार — २२ महिनाको पीडापछि ११ दिनमै स्वदेश फर्काइयो

theoutsidenepal.com

दुबईमा पीडित नेपाली चेलीको उद्धार — २२ महिनाको पीडापछि ११ दिनमै स्वदेश फर्काइयो


काठमाडौँ । काभ्रेपलाञ्चोक निवासी रमिता रमतेल नाम गरेकी एक नेपाली युवतीलाई दुबईमा झन्डै दुई वर्षसम्म मानसिक यातना, ठगी र अलपत्र अवस्थाबाट उद्धार गरी सुरक्षित रूपमा नेपाल फर्काइएको छ।


२२ महिना अघि घरेलु कामदारका रूपमा दुबई पुगेकी रमिता घरधनीबाट पटक–पटक भएको मानसिक यातना सहन नसकी घरबाट भाग्न बाध्य भएकी थिइन्। त्यसपछि उनी तीन दिनसम्म खुला आकाशमुनि अलपत्र अवस्थामा बस्नुपरेको थियो।


यसबीच केही व्यक्तिहरूले विभिन्न संस्थाको नाममा सहयोग गर्ने बहाना बनाउँदै डुप्लिकेट NRNA को नाम प्रयोग गरी उनको परिवारसँग नेपाल फर्काउने भन्दै करिब १ लाख ४० हजार रुपैयाँ ठगी गरेका थिए। नक्कली कागजात र टिकट बनाएर पटक–पटक एयरपोर्ट पुर्‍याएर फर्काउने गर्दै उनलाई १८–१९ महिनासम्म झुलाएर थप मानसिक पीडा दिइएको थियो।


अन्ततः उनी वास्तविक NRNA को सम्पर्कमा पुगेपछि उद्धार प्रक्रिया सुरु भयो। NRNA NCC UAE को सक्रियतामा मात्र ११ दिनभित्र आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई सुरक्षित रूपमा नेपाल फर्काइएको हो।


इमिग्रेसन पार गरेपछि भावुक बनेकी रमिताले उद्धारकर्ताप्रति कृतज्ञता व्यक्त गर्दै आफूलाई नयाँ जीवन पाएको अनुभूति भएको बताइन्। लामो समयसम्म कागजात नबन्ने, एयरपोर्टबाट फर्किनुपर्ने र निरन्तर ठगीको सिकार हुनुपर्दा आफूले नेपाल फर्कनै नसक्ने डर लागेको उनको भनाइ थियो।


उद्धार कार्यमा भीम मल्ल ठकुरी, सबिन योन्जन, विजय श्रेष्ठ लगायतको टोलीको महत्वपूर्ण भूमिका रहेको बताइएको छ। साथै सिन्धुपाल्चोक तामाङ समाज यूएई का महासचिव राम तामाङको पनि सहयोग रहेको छ।


यो घटनाले पर्याप्त जानकारी, सीप र सुरक्षित माध्यमबिना वैदेशिक रोजगारीमा पठाउँदा नेपाली चेलीहरूले भोग्नुपर्ने जोखिम र पीडालाई उजागर गरेको छ। सरोकारवालाहरूले अभिभावकलाई सचेत रहन र सुरक्षित वैदेशिक रोजगारीका प्रक्रिया अपनाउन आग्रह गरेका छन्।


उद्धारमा संलग्नहरूले यस्ता मानवीय कार्यले पीडितलाई नयाँ जीवन र आशा दिन सक्ने भन्दै भविष्यमा पनि निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया