विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ सफल बनाउन एनआरएनए र राष्ट्रिय योजना आयोगबीच सहकार्य, विकासमा ज्ञान, सिप र लगानी जोड्ने प्रतिबद्धता

theoutsidenepal.com

विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ सफल बनाउन एनआरएनए र राष्ट्रिय योजना आयोगबीच सहकार्य, विकासमा ज्ञान, सिप र लगानी जोड्ने प्रतिबद्धता


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टबीच चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ को तयारी तथा नेपालको विकासमा ज्ञान, सिप, प्रविधि, नवप्रवर्तन र लगानीमार्फत सहकार्य गर्ने विषयमा विस्तृत छलफल भएको छ।

एनआरएनएका अनुसार भेटका क्रममा चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र प्रस्तुत गर्दै विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता, वैज्ञानिक, प्राविधिक तथा उद्यमीहरूको ज्ञान र अनुभवलाई नेपालको विकाससँग जोड्ने विषयमा विचार आदानप्रदान गरिएको हो।

एनआरएनए उपाध्यक्ष तथा सिप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले सन् २०१८ देखि सञ्चालन हुँदै आएको नेटवर्किङ फर डेभलपमेन्ट अवधारणालाई यसपटक केवल मुद्दामुखी छलफलमा सीमित नराखी समाधानमुखी कार्यान्वयन मोडेलमा रूपान्तरण गरिएको जानकारी दिए। उनले विगतका तीनवटा विश्व नेपाली ज्ञान सम्मेलनबाट प्राप्त निष्कर्ष तथा सिफारिसलाई राष्ट्रिय योजना आयोगको योजनागत तथा नीतिगत प्रक्रियासँग एकीकृत गरी कार्यान्वयनमुखी कार्यक्रमका रूपमा अघि बढाइने बताए।

डा. रेग्मीका अनुसार सम्मेलनमा योजना आयोगका प्राथमिकतासँग प्रत्यक्ष सम्बन्धित छवटा विषयगत क्षेत्रमा केन्द्रित छलफल हुनेछ। सम्मेलनमार्फत विश्वभर रहेका तीन लाखभन्दा बढी नेपाली विज्ञ, अनुसन्धानकर्ता, वैज्ञानिक, प्राविधिक, उद्यमी तथा विभिन्न पेसागत क्षेत्रका विशेषज्ञलाई नेपालका नीतिनिर्माता, सरकारी निकाय, विश्वविद्यालय, अनुसन्धान संस्था र निजी क्षेत्रसँग एउटै साझा मञ्चमा जोड्ने लक्ष्य राखिएको छ।

एनआरएनए उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समिति संयोजक रोजिना प्रधान राईले दोस्रो पुस्ताका नेपाली मूलका दक्ष युवा तथा विश्वभर रहेका नेपाली विज्ञलाई पनि नेपालको विकास यात्रासँग जोड्नुपर्ने आवश्यकता औंल्याइन्। साथै, गैरआवासीय नेपाली विकास कोष, गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन तथा गैरआवासीय नेपाली ऐन संशोधनका विषय शीघ्र टुंगोमा पुर्‍याउन आग्रह गरिन्।

एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले गैरआवासीय नेपाली विकास कोष सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिँदै विश्वभर रहेका साना तथा ठूला लगानीकर्तालाई नेपालमा लगानी गर्न आकर्षित गर्ने उद्देश्यले कोष सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए।

यसैगरी, एनआरएनएका उपमहासचिव कृष्ण पोखरेलले गैरआवासीय नेपालीको लगानी तथा लगानीबाट प्राप्त प्रतिफल स्वदेश फिर्ता लैजाने प्रक्रियामा देखिएका नीतिगत तथा व्यावहारिक कठिनाइबारे राष्ट्रिय योजना आयोगलाई जानकारी गराएका थिए।

भेटमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले आयोग एनआरएनएसँग सहकार्य गर्न सदैव सकारात्मक रहेको बताउँदै गैरवित्तीय क्षेत्रको डिजिटलीकरण, उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, उपत्यकाबाहिर सुरुङमार्ग, यातायात तथा अन्य पूर्वाधार विकासका क्षेत्रमा समेत सहकार्य गर्न सकिने धारणा व्यक्त गरे। उनले विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ सफल बनाउन आयोगको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे।

भेटका क्रममा एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले युरोप क्षेत्रीय सम्मेलन तथा एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए।


प्रतिक्रिया