दिल्लीमा रास्वपा–भाजपा उच्चस्तरीय भेटवार्ता, लोकतान्त्रिक अभ्यास र संगठन निर्माणमा अनुभव आदानप्रदान
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज नयाँदिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा शीर्ष नेतृत्वसँग महत्वपूर्ण राजनीतिक तथा कूटनीतिक भेटवार्ता गरेको छ।
भेटवार्तामा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नविन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख विजय चौथाइवाले तथा रेखा गुप्ता लगायतका वरिष्ठ नेताहरू सहभागी थिए। रास्वपाका तर्फबाट सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहरा लगायतको सहभागिता रहेको थियो।
द्विपक्षीय छलफलमा नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने, लोकतान्त्रिक मूल्य–मान्यता र राजनीतिक अभ्यासका विषयमा संवाद विस्तार गर्ने तथा दलगत कूटनीतिक सम्बन्धलाई नयाँ आयाम दिने विषयमा केन्द्रित छलफल भएको बताइएको छ।
भेटमा संगठन निर्माण, तल्लो तहसम्म जनसम्पर्क विस्तार, सुशासन, विकासमुखी राजनीतिक अभ्यास तथा नयाँ पुस्ताको नेतृत्व विकाससम्बन्धी अनुभव र रणनीतिहरू आदानप्रदान गरिएको थियो। दुवै पक्षले लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण र जनमुखी राजनीतिक अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
रास्वपाले उक्त भेटलाई दुई दलबीचको आपसी समझदारी विस्तार गर्ने तथा संगठनात्मक सुदृढीकरण र लोकतान्त्रिक परिपक्वता अभिवृद्धि गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।