काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल आउनुभएका एनआरएनए आईसीसीका उपाध्यक्ष पदका उम्मेदवार दाडीवाल खड्का र नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकालीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ।
उहाँहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता दीपक कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै नेपाल आगमनको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रममा विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रका व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।
सम्मेलनमा सहभागी हुन विश्वका विभिन्न देशबाट गैरआवासीय नेपालीहरू नेपाल आइरहेका छन्। सोही क्रममा जापानबाट नेपाल आउनुभएका खड्का र थकालीले एनआरएनए अभियानलाई एकताबद्ध बनाउँदै विश्वभर रहेका नेपालीहरूको हक, हित र पहिचानका लागि अझ सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आगामी सम्मेलनमा संगठनको नेतृत्व चयनका लागि हुने निर्वाचनमा दाडीवाल खड्काले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ। उहाँले एनआरएनएलाई अझ सशक्त, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्यका साथ आफ्नो उम्मेदवारी अघि सारेको बताउनुभएको छ।
१२औँ अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा विश्वभरबाट आएका गैरआवासीय नेपालीहरूको व्यापक सहभागिताले एनआरएनए अभियानलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।