निजी मेडिकल कलेजको सरकारलाई अल्टिमेटम,१५ दिनभित्र माग पूरा नभए आन्दोलन—एमडी,एमएस एमबीएसका विद्यार्थीको भत्ता आजैदेखि बन्द

theoutsidenepal.com

निजी मेडिकल कलेजको सरकारलाई अल्टिमेटम,१५ दिनभित्र माग पूरा नभए आन्दोलन—एमडी,एमएस एमबीएसका विद्यार्थीको भत्ता आजैदेखि बन्द

काठमाडौं — एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले सरकार र डाक्टर गोविन्द केसीबीच भएको भनिएको सहमतिको कडा विरोध गर्दै सहमति सच्याउन १५ दिने अल्टिमेटम दिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई बिहीबार पत्र लेख्दै एसोसिएसनले सरकारले आफूसँग भएका विगतका सहमतिहरू ठाडै उल्लंघन गरेको निष्कर्ष निकालेको हो । बिहीबार नै उक्त पत्र ३० नम्बरमा दर्ता भएको मन्त्रालयले जनाएको छ । 

गत वर्ष सरकार, नेपाल मेडिकल एशोसिएसन र निजी कलेजहरूसँग भएको सहमति अनुसार एमडी÷एमएस एमबीएस अध्ययनरत विद्यार्थीहरूको stipend (भत्ता) साविकको २० हजार रुपैयाँबाट बढाएर शर्तसहित ४८ हजार ७३७ रुपैयाँ पु¥याइएको थियो । कलेजहरूलाई थपिएको आर्थिक भारलाई ध्यानमा राख्दै एमबीबीएसतर्फको सिट संख्या १३० बाट बढाएर १५० पुर्याउने र नर्सिङ तथा पारामेडिकलमा समेत सोही अनुसार विद्यार्थी भर्ना गर्ने भद्र सहमति भएको थियो । तर, सरकारले ती सबै सहमति लत्याएर एक अमुक व्यक्तिसँग सम्झौता गरेको र राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा ४७ बमोजिम गैरनाफामूलक र सेवामूलक संस्थाका रूपमा रहने प्रावधान कार्यान्वयन गर्न कार्यदल गठन गर्ने प्रस्ताव गर्ने सहमति गरेको छ । एसोसिएसनले कलेजहरूले उक्त stipend पनि आजैदेखि दिन नसक्ने उल्लेख गरेको छ ।   

सरकार र डाक्टर केसीबीच भएको भनिएको कथित सहमतिको बुँदा नम्बर ३ मा चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड बमोजिम सिट निर्धारण गर्ने, निजी शिक्षण संस्थामा सिट वृद्धि नगरिने तर सार्वजनिक शिक्षण संस्थाको सिट संख्या वृद्धि गर्न बाधा नपर्ने उल्लेख छ भने ऐनमा भएको व्यवस्था अनुसार छात्रवृत्तिसम्बन्धी व्यवस्था यथावत राखिने भनिएको छ । त्यस्तै बुँदा नम्बर ४ मा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४७ मा भएको व्यवस्था बमोजिम नेपालभित्र सञ्चालित चिकित्सा सम्बन्धी शिक्षण संस्था क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थाका रूपमा रहनेछन् भन्ने प्रावधान कार्यान्वयन गर्न अध्ययन गरी ६ महिनाभित्र राय सुझावसहितको प्रतिवेदन पेस गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले उच्चस्तरीय कार्यदल गठन गर्न नेपाल सरकारसमक्ष प्रस्ताव पेस गर्ने सहमति भएको विषय उल्लेख छ ।

एसोसिएसनका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्र मान सिंह कार्कीद्वारा हस्ताक्षरित पत्रमा यी बुँदाहरू नेपालको संविधानको धारा १, धारा १७ (२) (च), धारा १८ (१) र धारा २५ ले प्रदान गरेको संवैधानिक हक, अधिकार तथा स्वतन्त्रताको गम्भीर उल्लंघन भएको जनाइएको छ । आर्थिक उदारिकरण, निजीकरण र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन निजी क्षेत्रको लगानीको संरक्षण गर्ने संवैधानिक दर्शन, उद्देश्य तथा आर्थिक संविधानवाद विपरीत बिना उचित कानुन निजी लगानीमाथि राज्यको अधिकार सिर्जना गर्ने अधिकार नभएको दाबी गरिएको छ ।

कथित सहमतिपत्रको बुँदा नं. ३ र ४ मा उल्लेखित विषयहरू तथा सो आधारमा गरिने सिफारिस एवं प्रस्तावहरू यथाशीघ्र बदर नगरिएसम्म आजको मितिबाट लागू हुने गरी एमडी÷एमएस एमबीएस विद्यार्थीहरूलाई शर्तसहित दिँदै आएको ४८ हजार ७३७ रुपैयाँ भत्ता रकम तत्कालबाट दिन नसकिने घोषणा सबै सरोकारवालाहरूलाई गराइएको छ । सरकारसँग भएका भद्र सहमतिविपरित गरिएको कथित सहमतिपत्रका ती बुँदाहरू खारेज गरी १५ दिनभित्र समस्या समाधान गर्न पहल गर्न अल्टिमेटम दिइएको छ, अन्यथा आन्दोलनका थप सशक्त कार्यक्रमहरू अगाडि बढाइने र यसबाट सर्वसाधारण जनता र विद्यार्थीहरूको पठनपाठनमा पर्न जाने असर तथा परिणामको जवाफदेही स्वयं सरकार नै हुनेछ भनिएको छ ।

एसोसिएसनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४७ को गैरकानूनी व्यवस्था खारेज गर्नुपर्ने, पूर्वाधार पुगेका कलेजहरूको हकमा यसै शैक्षिक सत्रबाट एमबीबीएसमा प्रति वर्ष २ वटा इन्टेक कायम गरेर प्रति इन्टेक १५० जना र नर्सिङ तथा पारामेडिकलमा प्रति वर्ष २ वटा इन्टेक कायम गरेर प्रति इन्टेक १००÷१०० जना विद्यार्थी भर्ना गरी अध्यापन गराउने सुनिश्चितता गर्नुपर्ने माग राखेको छ । साथै, विदेशी विद्यार्थीहरूको सहभागिता अभिवृद्धि गर्न सिट संख्या वृद्धि गर्नुका साथै प्रचलित मापदण्डका आधारमा योग्य विदेशी विद्यार्थीहरूको भर्ना प्रक्रिया सरल, सहज, पारदर्शी र प्रभावकारी बनाउनुपर्ने र मेडिकल, डेन्टल, नर्सिङ तथा पारामेडिकल शिक्षाको शुल्क वैज्ञानिक ढंगले निर्धारण गर्नुपर्ने मागहरू अगाडि सारेको छ । यस पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएसन र सबै मेडिकल तथा डेन्टल कलेजहरूलाई पठाइएको छ ।

प्रतिक्रिया