अब बन्ने सरकारसँग १५ बुँदे कडा माग : एनआरएनए कतार

theoutsidenepal.com

कतार — Non-Resident Nepali Association (एनआरएनए) को Non-Resident Nepali Association National Coordination Council Qatar का अध्यक्ष कृष्ण पन्थी ले अब बन्ने नेपाल सरकारसँग देशको सुरक्षा, समृद्धि र आत्मनिर्भरता सुनिश्चित गर्न १५ बुँदे माग अघि सारेका छन्।


जारी वक्तव्यमा उनले महिला तथा बालबालिकामाथि हुने जघन्य अपराध रोक्न कडा कानुनी व्यवस्था, द्रुत न्याय प्रणाली र विशेष अदालत गठन गर्नुपर्नेमा जोड दिएका छन्। साथै नेपालको भौगोलिक अवस्थाअनुसार पहाडी क्षेत्रमा सुरुङमार्ग निर्माण, आधुनिक सडक विस्तार तथा पूर्व–पश्चिम रेल वा मेट्रो कनेक्टिभिटी विकास गर्नुपर्ने माग गरिएको छ।


वक्तव्यमा नेपाल स्थलरुद्ध देश भएकाले दीर्घकालीन कूटनीतिक सहकार्यमार्फत समुद्री बन्दरगाहको पहुँच सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ। त्यसैगरी सीमा सुरक्षालाई सुदृढ बनाउन आधुनिक निगरानी प्रणाली र सुरक्षात्मक संरचना निर्माण गर्नुपर्ने बताइएको छ।


एनआरएनए कतारका अध्यक्ष पन्थीले ज्येष्ठ नागरिक र बालबालिकाका लागि हरेक शहरमा पार्क निर्माण, निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा सुनिश्चित गर्नुपर्ने माग पनि राखेका छन्। विद्यालय तहदेखि नै नैतिकता, अनुशासन र सामाजिक जिम्मेवारीसम्बन्धी शिक्षा समावेश गर्नुपर्ने उनको भनाइ छ।


यसैगरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार विमानस्थल विकास, लुम्बिनी लाई विश्वस्तरीय आध्यात्मिक पर्यटन केन्द्रका रूपमा प्रवर्द्धन, प्राकृतिक स्रोतहरूको वैज्ञानिक उपयोग तथा सरकारी सेवाहरूलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजानुपर्ने विषय पनि मागपत्रमा समेटिएका छन्।


वक्तव्यमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति लागू गर्न, नेपालको जडीबुटी, योग र आयुर्वेदलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्न तथा उद्योग–कलकारखाना स्थापना गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ।


अध्यक्ष कृष्ण पन्थी ले यी मागहरू कार्यान्वयन भए नेपाललाई सुरक्षित, समृद्ध र आत्मनिर्भर बनाउने दिशामा ठोस उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया