काठमाडौं । हर्क साम्पाङले अनलाइन माध्यममा बढ्दो गालीगलौज, अपशब्द र दुर्व्यवहारबारे संसदमा चासो व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरूमा धेरै व्यक्तिहरूले खुला रूपमा मुख छाड्ने तथा अमर्यादित व्यवहार गर्ने गरेको उल्लेख गर्दै यस्ता गतिविधिमा के–कस्तो कारबाही हुने व्यवस्था छ भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले कानुनी कारबाही मात्र पर्याप्त नहुने भन्दै नैतिक तथा सामाजिक शिक्षाको अभाव नै समस्याको मुख्य कारण रहेको बताए। समाजमा सभ्य र जिम्मेवार व्यवहारको विकास गर्न नैतिक तथा सामाजिक शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव उनले सरकारलाई दिएका छन्।
सांसद साम्पाङले विशेष गरी युवापुस्तालाई लक्षित गरी सचेतनामूलक अभियान तथा शिक्षा कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै यसका लागि सुदन गुरुङको ध्यानाकर्षण गराएका छन्।
उनको भनाइमा अनलाइन दुर्व्यवहार नियन्त्रणका लागि कानुनी व्यवस्था, जनचेतना र नैतिक शिक्षालाई सँगसँगै अगाडि बढाउन आवश्यक रहेको छ।