प्रहरी महानिरीक्षक कार्कीद्धारा देशभरका प्रहरी प्रमुखलाई भर्चुअल निर्देशन
काठमाडौँ — नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले देशभरका मातहत प्रहरी कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा भर्चुअल सम्मेलनमार्फत निर्देशन दिएका छन्।
भर्चुअल कन्फरेन्समार्फत आयोजित उक्त सम्बोधनमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू (एआईजी) समेत सहभागी रहेका थिए। सम्मेलनमा वर्तमान सुरक्षा अवस्था, शान्ति–सुरक्षा कायम राख्ने रणनीति तथा संगठनात्मक सुदृढीकरणका विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ।
प्रहरी महानिरीक्षक कार्कीले बदलिँदो परिस्थितिअनुसार प्रभावकारी रूपमा सेवा प्रवाह गर्न, नागरिकसँगको सम्बन्ध थप सुदृढ बनाउन र कानून कार्यान्वयनमा अझ कडाइका साथ लाग्न निर्देशन दिएका छन्।
उक्त अवसरमा उनले “To Serve and Protect” को मूल मन्त्रलाई आत्मसात गर्दै जनताको विश्वास जित्ने गरी कार्यसम्पादन गर्न जोड दिएका थिए। साथै, प्रविधिको प्रयोग बढाउँदै आधुनिक र उत्तरदायी प्रहरी संगठन निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकता पनि औँल्याएका छन्।
नेपाल प्रहरीले समयानुकूल निर्देशन र समन्वयमार्फत देशभर शान्ति सुरक्षा कायम राख्न निरन्तर सक्रियता देखाउँदै आएको छ।