प्रधानन्यायाधीश नियुक्ति विवादमा सपना प्रधानमाथि इन्द्रप्रसाद आर्यालको तीखा प्रश्न

theoutsidenepal.com


प्रधानन्यायाधीश नियुक्ति विवादमा सपना प्रधानमाथि इन्द्रप्रसाद आर्यालको तीखा प्रश्न



काठमाडौं । कानुनविद् एवं मानव अधिकार संगठनका अध्यक्ष इन्द्र प्रसाद आर्याल ले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल प्रति लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्।


आर्यालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद्मा बहुमतका आधारमा पदाधिकारी नियुक्ति गर्न ल्याएको अध्यादेश र त्यसबाट गरिएको ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले स्पष्ट रूपमा असंवैधानिक भन्न नसकेको विषय उठाएका छन्।


उनले उक्त फैसलाकै कारण अहिले फेरि अध्यादेशमार्फत नियुक्तिको बाटो खुलेको दाबी गर्दै प्रश्न गरेका छन्, “त्यो बेला संविधान विपरीत भन्न नसक्नु नै अहिलेको अवस्थाको कारण होइन र ?”


आर्यालले संविधानसभाबाटै प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था बनाइएको स्मरण गराउँदै संवैधानिक परिषद् र न्याय परिषद्को भूमिकामाथि समेत प्रश्न उठाएका छन्। उनले न्याय परिषद्ले सिफारिस गरेका व्यक्तिमध्येबाट संवैधानिक परिषद्ले प्रधानन्यायाधीश चयन गर्दा अहिले त्यसकै विरोध गर्नु विरोधाभासपूर्ण भएको टिप्पणी गरेका छन्।


उनले सामाजिक सञ्जाल स्टाटसमार्फत “संवैधानिक परिषद् स्वतन्त्र छैन भने बैठक, सिफारिस र निर्णयको नाटक किन गर्ने ?” भन्दै कटाक्ष गरेका छन्।


त्यसैगरी आर्यालले न्यायाधीश नियुक्ति प्रक्रियामा पहुँच र प्रभावको राजनीति हाबी भएको संकेत गर्दै सपना प्रधानमाथि व्यक्तिगत पहुँच विस्तारका लागि विभिन्न गतिविधिमा संलग्न भएको आरोपसमेत लगाएका छन्।


उनले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ को प्रभाव र न्यायालयभित्रको शक्ति संघर्षको प्रसंगसमेत उल्लेख गर्दै न्यायालयको निष्पक्षता र आचरणमाथि प्रश्न उठाएका छन्।


आर्यालको यो अभिव्यक्तिपछि प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया, संवैधानिक परिषद्को अधिकार र न्यायपालिकाको भूमिकाबारे नयाँ बहस सुरु भएको छ।


प्रतिक्रिया