पाटन दरबार क्षेत्र मा बुधबार साँझ भएको चक्कु प्रहारमा दुई दाजुभाइको ज्यान गएको छ। मृत्यु हुनेमा ३३ वर्षीय सुमित नेम्वाङ र २६ वर्षीय सिर्जन नेम्वाङ रहेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सामान्य विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। फोन डायल गर्दा भएको सानो त्रुटिबाट सुरु भएको विवाद मिलाउन र माफी माग्न दाजुभाइ घटनास्थल पुगेका थिए। तर उनीहरूले कुरा राख्न नपाउँदै नजिकै मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले अचानक सिर्जनमाथि चक्कु प्रहार गरेका थिए।
भाइमाथि हमला भएपछि छुट्याउन गएका सुमितमाथि पनि आक्रमण हुँदा दुवै गम्भीर घाइते भएका थिए। प्रहरी टोलीले तत्काल उद्धार गरी उनीहरूलाई ग्वार्कोस्थित बीएन्डबी अस्पताल पुर्याएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि फरार हुने प्रयास गरेका आरोपी सञ्जीव नेपालीलाई नजिकैको एक रेष्टुरेन्टमा लुकेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने क्रममा उनले प्रहरीमाथि दुर्व्यवहारको प्रयाससमेत गरेको बताइएको छ।
प्रारम्भिक विवरणअनुसार मृतक दाजुभाइ इमाडोल निवासी हुन्। उनीहरू आमा भेट्न लन्डन जाने तयारीमा रहेका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।