द टन न्युज | विशेष रिपोर्ट
भोटेकोशी बाढीपछि एनआरएनएको राहत अभियान २५औँ दिनमा पनि निरन्तर, ५ करोड ७३ लाख ५६ हजार संकलन
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत अभियान २५औँ दिनमा पनि निरन्तर जारी रहेको छ।
एनआरएनए अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा राहत तथा मानवीय सहयोग अभियानको समीक्षा बैठक सम्पन्न भएको छ। महासचिव डा. चिरञ्जीवी खड्काको सञ्चालनमा सम्पन्न बैठकमा हालसम्म बाढी प्रभावित क्षेत्रमा संघको समन्वयमा भएका राहत गतिविधि, प्रभावित परिवारको आवश्यकता, स्थानीय तथा भौगोलिक अवस्था र आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो।
बैठकमा हालसम्मको राहत अभियानबाट करिब १ हजार परिवार प्रत्यक्ष रूपमा लाभान्वित भएको तथा करिब १ हजार जनाले स्वास्थ्य सेवा र मानसिक परामर्श प्राप्त गरेको जानकारी गराइएको छ। राहत संकलन, विभिन्न संघसंस्था तथा सहयोगी निकायसँगको सहकार्य र सरकारसँगको समन्वयबारे समेत बैठकमा समीक्षा गरिएको थियो।
स्थलगत भ्रमणमा सहभागी टोलीले प्रभावित क्षेत्रको वास्तविक अवस्था, तत्काल देखिएका आवश्यकता तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र अनुभवसमेत बैठकमा प्रस्तुत गरेको थियो।
राहतपछि पुनर्निर्माणमा सरकारसँग सहकार्य
एनआरएनएले राहत तथा मानवीय सहयोगलाई निरन्तरता दिँदै अब पुनर्निर्माणको चरणमा समेत सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ।
भोटेकोशी बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि आवश्यक योजना तथा आगामी कार्यदिशाबारे छलफल गर्न सोमबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजना हुने बैठकमा एनआरएनएका पदाधिकारी सहभागी हुने कार्यक्रम रहेको संघले जनाएको छ।
८ करोड ७७ लाखभन्दा बढी प्रतिबद्धता, ५ करोड ७३ लाख संकलन
भोटेकोशी–रसुवा बाढी २०२६ राहत अभियानका लागि हालसम्म ८ करोड ७७ लाख २१ हजार ९०६ रुपैयाँ ६६ पैसा सहयोगको प्रतिबद्धता प्राप्त भएको छ। त्यसमध्ये हालसम्म ५ करोड ७३ लाख ५६ हजार ४३४ रुपैयाँ २८ पैसा संकलन भइसकेको एनआरएनएको वित्तीय प्रतिवेदनमा उल्लेख छ।
संकलित रकममध्ये एनसीसीबाट ३ करोड ६४ लाख ५२ हजार ९७० रुपैयाँ ४२ पैसा र व्यक्तिगत सदस्यहरूबाट १ करोड ४३ लाख ७१ हजार ६४७ रुपैयाँ ४० पैसा प्राप्त भएको छ।
विदेशी सहयोगसहित विभिन्न स्रोतबाट प्रतिबद्धता गरिएकोमध्ये ३ करोड ५८ लाख २० हजार २२ रुपैयाँ ३८ पैसा बैंकमा जम्मा हुन बाँकी रहेको जनाइएको छ। बैठकले पूर्वप्रतिबद्धताअनुसार सहयोग रकम पठाउन सम्बन्धित सबै सहयोगी तथा संस्थाहरूलाई आग्रहसमेत गरेको छ।
ठूलो स्याफ्रुका ९८ परिवारलाई राहत
यसैबीच एनआरएनएको समन्वय तथा सहजीकरणमा भारतको SikhAid Charitable Trust ले गोसाइँकुण्ड गाउँपालिका–१, ठूलो स्याफ्रुका ९८ प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको छ।
बाढी प्रभावित परिवारलाई ग्यास चुलो, भान्साका सामग्री, प्रेसर कुकर, कम्बललगायत आवश्यक सामग्री वितरण गरिएको हो। भारतबाट राहत सामग्रीसहित आएको SikhAid टोलीले स्थानीय जनप्रतिनिधिको समन्वय तथा निगरानीमा प्रभावित परिवारसम्म राहत पुर्याएको एनआरएनएले जनाएको छ।
बाढीपछिको राहत अभियानलाई थप व्यवस्थित बनाउँदै पुनर्निर्माणको चरणमा समेत सरकार, स्थानीय तह, गैरसरकारी संस्था, एनसीसी तथा स्वदेश–विदेशमा रहेका सहयोगीहरूसँग सहकार्य गर्ने एनआरएनएको कार्ययोजना रहेको छ।