NRNA Japan ले जापानमा आयोजना हुँदै आएको “नेपाल फेस्टिभल” सम्बन्धमा सामाजिक सञ्जालमा फैलाइएका कपोलकल्पित, भ्रामक, तथ्यहीन तथा निराधार सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जारी प्रेस विज्ञप्तिमा नेपालको मौलिक कला, संस्कृति, भाषा, पर्यटन तथा जापानस्थित नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुँदै आएका कार्यक्रमहरूलाई लक्षित गर्दै अपुष्ट सूचना र व्यक्तिनिष्ठ आरोप–प्रत्यारोप सार्वजनिक गरिनु दुःखद र खेदजनक भएको उल्लेख गरिएको छ ।
एनआरएनए जापानले सामाजिक सञ्जालको गैरजिम्मेवार प्रयोगले व्यक्ति, संस्था र समग्र समुदायमै नकारात्मक असर पार्न सक्ने भन्दै कुनै आधिकारिक पुष्टि बिना भ्रम फैलाउने, अविश्वास सिर्जना गर्ने तथा सामाजिक सद्भावमा असर पुर्याउने गतिविधि नगर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सामाजिक उत्तरदायित्व, सभ्यता र मर्यादालाई समेत आत्मसात गर्नुपर्ने उल्लेख गरिएको छ । साथै आलोचना र सुझावलाई सकारात्मक रूपमा लिन सकिने भए पनि तथ्यहीन प्रचार, चरित्रहत्या तथा भ्रम फैलाउने उद्देश्यले गरिने अभिव्यक्ति स्वीकार्य नहुने स्पष्ट पारिएको छ ।
कुनै विषयमा जिज्ञासा, गुनासा वा असमझदारी भए सम्बन्धित आयोजक वा जिम्मेवार निकायसँग प्रत्यक्ष सम्पर्क गरी सत्यतथ्य बुझ्न आग्रह गर्दै एनआरएनए जापानले जापानस्थित सम्पूर्ण नेपाली समुदायलाई सामाजिक एकता, सद्भाव र सकारात्मक वातावरण कायम राख्न सहयोग गर्न अपिल गरेको छ ।
विज्ञप्तिको अन्त्यमा जापानमा नेपाली समुदायको गौरव, एकता र पहिचानलाई अझ सुदृढ बनाउन सबै पक्ष जिम्मेवार, संयमित र सकारात्मक भूमिकामा प्रस्तुत हुने विश्वास व्यक्त गरिएको छ ।