काठमाडौं, नेपाली कांग्रेसका नेता डा. अबुल हुसेन अन्सारीले पछिल्लो केही दिनदेखि मन्त्री बब्लु गुप्तामाथि भइरहेको योजनाबद्ध मिडिया ट्रायललाई चरम नश्लीय वादको उदाहरण भएको टिप्पणी गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता अन्सारीले मधेशी समुदायका युवा नेता भएका कारण मन्त्री गुप्तामाथि असमान व्यवहार गरिएको दाबी गर्नुभयो। “यदि बब्लु गुप्ता तराईमूल मधेशी समुदायका नभई अन्य समुदायका युवा नेता भएको भए यति ठूलो मिडिया ट्रायल हुने थिएन,” उहाँको भनाइ छ।
डा. अन्सारीले मन्त्री गुप्तालाई जिम्मेवारी दिइएको मन्त्रालयलाई कमजोर र काम न काज भएको मन्त्रालयको संज्ञा दिँदै सोही सरकारभित्र अन्य केही मन्त्रीहरूले तीन–तीन वटा मन्त्रालय सम्हालिरहेकोप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ।
उहाँले जेन–जी आन्दोलनपछि देशमा मधेशी लगायत विभिन्न समुदायमाथि हुने भेदभाव अन्त्य भई अयोग्य पुराना र योग्य नयाँको बहस सुरु भएको अपेक्षा गरिए पनि व्यवहारमा अहंकारी नश्लीय सोच अझै कायम रहेको उल्लेख गर्नुभयो।
नेता अन्सारीले सबैलाई सचेत गराउँदै “यो देश सबैको हो, कुनै एक वर्ग वा समुदायले मात्र आफूलाई मालिक ठान्ने भ्रममा नबसोस्” भन्दै राष्ट्रिय एकता र समावेशीतामा जोड दिनुभएको छ। स्टाटसको अन्त्यमा उहाँले “सबैमा जय नेपाल” भन्ने सन्देशसमेत दिनुभएको छ।