द टन न्युज,धनगढी — गोपाल हमाल ले जनप्रतिनिधिहरूको तलब सम्बन्धी व्यवस्थामा परिवर्तन गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।
आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले देशभरका जनप्रतिनिधिहरूलाई तलब नदिने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन्।
मेयर हमालका अनुसार जनप्रतिनिधिहरू सेवा भावनाका साथ काम गर्न आएका व्यक्तिहरू भएकाले तलब लिने प्रणाली उपयुक्त नहुने बताए। उनले भने, “जनप्रतिनिधि भनेका समाजसेवी हुन्, उनीहरूलाई तलब होइन, आवश्यक भत्ता मात्र उपलब्ध गराइनुपर्छ।”
उनले वर्तमान अवस्थामा नेपालको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको र विकासका कामहरू ऋण लिएर सञ्चालन भइरहेकाले राज्यले खर्च घटाउने दिशामा सोच्नुपर्ने बताए।
उनको भनाइमा, जनप्रतिनिधिहरूलाई तलब नदिने व्यवस्था लागू गरिएमा सरकारी खर्च कटौती हुनुका साथै जनप्रतिनिधिहरूको सेवा भावना अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
मेयर हमालको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा यस विषयमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्।