द टन न्युज ,वैशाख ३ गते, काठमाडौं — सम्पत्ति छानबिन आयोगको अध्यक्षमा राजेन्द्र कुमार भण्डारी नियुक्त भएपछि उनको पृष्ठभूमि र अनुभवबारे जनचासो बढेको छ।
२०२२ सालमा शाखा अधिकृतको रूपमा प्रशासन सेवामा प्रवेश गरेका भण्डारीले आफ्नो करियर प्रशासन सेवाबाट सुरु गरेका थिए। पछि उनी न्याय सेवामा प्रवेश गर्दै क्रमशः जिल्ला, अञ्चल, विशेष र पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगेका थिए। उनी २०६१ सालदेखि २०६४ माघसम्म सर्वोच्च अदालत नेपाल मा न्यायाधीशको रूपमा कार्यरत थिए र सोही पदबाट अवकाश लिएका हुन्।
भण्डारीसँग अवकाशपछि विभिन्न जाँचबुझ आयोगहरूको नेतृत्व गरेको व्यापक अनुभव छ। उनले माओवादी शान्ति प्रक्रियापछि चर्चित बनेको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्याकाण्डको छानबिनका लागि गठित आयोगको संयोजकको जिम्मेवारी सम्हालेका थिए।
यसैगरी, प्रहरीको गोलीबाट प्रदीपकुमार खड्काको मृत्यु भएको घटनाको छानबिनमा समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले खेलाडी निर्मल पन्त र पुष्कर डंगोलको हत्या, केन्द्रीय कारागारमा भएको गोली प्रहार, तथा इस्लामिक महासंघका महासचिव फैजान अहमदको घण्टाघर अगाडि भएको हत्या घटनाको छानबिनका लागि गठन गरिएका विभिन्न आयोगहरूको नेतृत्व गरेका थिए।
कानुनी क्षेत्रका अनुभवी व्यक्तित्वका रूपमा चिनिने भण्डारी हाल पूर्वन्यायाधीशहरूको संस्थागत गतिविधिमा सक्रिय छन्। साथै, उनी सर्वोच्च अदालतमा मेलमिलापकर्ता (Mediator) तथा आर्बिटेटरका रूपमा पनि कार्यरत छन्।
उनको लामो प्रशासनिक तथा न्यायिक अनुभव, साथै विभिन्न संवेदनशील घटनाको निष्पक्ष छानबिनमा नेतृत्व गरेको पृष्ठभूमिलाई आधार मान्दै सरकारले उनलाई सम्पत्ति छानबिन आयोगको अध्यक्षमा चयन गरेको हो।