विस्थापित सुकुम्बासीका लागि गाउँमै घर बनाइदिने घोषणा — समाजसेवी हेम थापाको पहल

theoutsidenepal.com

विस्थापित सुकुम्बासीका लागि गाउँमै घर बनाइदिने घोषणा — समाजसेवी हेम थापाको पहल


काठमाडौं। शहरी क्षेत्रमा गरिएको अवैध बस्ती हटाउने अभियानपछि विस्थापित बनेका सुकुम्बासीहरूको विषय अहिले व्यापक बहसको केन्द्र बनेको छ। यही सन्दर्भमा बरिष्ठ समाजसेवी हेम थापा ले महत्वपूर्ण सामाजिक पहलको घोषणा गरेका छन्।


उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै, वास्तविक सुकुम्बासीहरूलाई गाउँमा बसोबास गर्न इच्छुक भए आफू व्यक्तिगत रूपमा जग्गा किनेर १० देखि २० परिवारका लागि घर निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन्। उनले यसका लागि सरकारको आवश्यक अनुमति र समन्वय हुनुपर्ने उल्लेख गरेका छन्।


थापाले विशेष गरी सहरबाट लखेटिएका, घरबारविहीन बनेका र वास्तवमै पीडित भएका सुकुम्बासीलाई लक्षित गर्दै यस्तो पहल अघि सारेका हुन्। उनका अनुसार, दीर्घकालीन समाधानका लागि केवल हटाउने नीति मात्र पर्याप्त नभई पुनर्वास र व्यवस्थापन पनि उत्तिकै आवश्यक छ।


उनको यो घोषणालाई धेरैले सकारात्मक सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा लिएका छन्। यस्ता पहलले सरकारलाई पनि सुकुम्बासी व्यवस्थापनमा सहयोग पुग्ने र प्रभावित परिवारलाई नयाँ जीवन सुरु गर्ने अवसर मिल्ने विश्वास व्यक्त गरिएको छ।


हाल सरकारले सुकुम्बासी पहिचान, अस्थायी बसोबास तथा दीर्घकालीन पुनर्वासका विषयमा विभिन्न योजना अघि बढाइरहेको छ। यस्ता निजी क्षेत्र तथा व्यक्तिबाट आएका प्रस्तावहरूले समस्या समाधानमा थप सहकार्यको सम्भावना देखाएका छन्।


प्रतिक्रिया