काठमाडौँ — सामाजिक अभियन्ता लोक नाथ अधिकारी ले नियम, कानुन र संविधानको उल्लङ्घन गर्दै राज्यकोष दुरुपयोग गर्ने तथा भ्रष्टाचारमार्फत देश लुट्नेहरूलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग कडा आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आफ्नो धारणा व्यक्त गर्दै उनले जनताले स्पष्ट रूपमा सुशासन र जवाफदेहिताको पक्षमा जनादेश दिएको उल्लेख गरेका छन्।
अधिकारीले विशेषगरी कार्की आयोगको प्रतिवेदन अक्षरशः कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै अब ढिलाइको कुनै ठाउँ नरहेको बताएका छन्। “कानुनको नजरमा सबै बराबर हुनुपर्छ—कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ,” उनले उल्लेख गरेका छन्। उनका अनुसार गल्ती गर्ने जोसुकै भए पनि समान रूपमा कानुनी कारबाही भोग्नुपर्छ, अन्यथा भ्रष्टाचारले देशलाई पछाडि धकेलिरहनेछ।
उनले सरकारलाई दृढतापूर्वक अगाडि बढ्न आग्रह गर्दै जनताको साथ सरकारसँग रहेको दाबी गरेका छन्। “आजको सरकार सबैको हो, यसको जिम्मेवारी पनि साझा हो,” भन्दै उनले विगतको राजनीतिक विभाजनभन्दा माथि उठेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
यस्तै, सामाजिक सञ्जालमा बढ्दो गाली–गलौज, व्यक्तिगत आक्रमण र चरित्र हत्याप्रति चिन्ता व्यक्त गर्दै अधिकारीले अभिव्यक्ति स्वतन्त्रता जिम्मेवारीसहित प्रयोग गर्नुपर्ने बताएका छन्। अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने उनको माग छ।
अधिकारीले अन्त्यमा देश निर्माणको स्पष्ट बाटो न्याय, समानता र कडा कानुनी कार्यान्वयनमै रहेको उल्लेख गर्दै कुनै पनि प्रकारको सम्झौता नगरी अघि बढ्न सरकारलाई आग्रह गरेका छन्।