काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारस्थित सरकारी निवासबाट अधिकांश सामान आफ्नै निजी निवास धापासी सारिसकेकी छन्। शुक्रबार नयाँ प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा स्वागत गरेपछि उनी स्वतः पदमुक्त हुने र सोही अवसरपछि निजी निवासतर्फ जाने तयारीमा रहेकी छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार अब बालुवाटारमा केही दिन बस्नका लागि आवश्यक न्यूनतम सामान मात्र बाँकी छ। “१३ गते नै धापासी सर्ने योजना छ,” उनले बताए। उनका अनुसार सामान सार्ने काम एक हप्ताअघि नै सुरु गरिएको हो।
नयाँ प्रधानमन्त्रीले शपथग्रहणपछि सीधै बालुवाटार प्रवेश गर्न चाहेमा सरकारी निवास पूर्ण रूपमा खाली भइसक्ने पनि रावलले जानकारी दिए।
उता, केही महिनादेखि खाली रहँदा धापासीस्थित निजी घरमा फोहोर जमेको थियो। एक साताको सरसफाइपछि अहिले घर बस्न योग्य अवस्थामा पुगेको जनाइएको छ। प्रधानमन्त्रीका पति दुर्गा सुवेदी पनि पछिल्लो समय बालुवाटारमै बस्दै आएका थिए। घर मिलाउने र सरसफाइको कामका लागि उनी धापासी र बालुवाटारबीच ओहोरदोहोर गरिरहेका थिए।