जनादेश पार्टी नेपालको घोषणापत्र निर्वाचन आयोगमा पेश: केन्द्रीय सदस्य जश्मिन ओझाको भावनात्मक अभिव्यक्ति

theoutsidenepal.com

काठमाडौं — निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालयमा जनादेश पार्टी नेपालको चुनावी घोषणापत्र पेश गरिएको छ। उक्त ऐतिहासिक क्षणमा सहभागी हुन पाउनु आफ्नो लागि जिम्मेवारी मात्र नभई गहिरो भावनात्मक अनुभव बनेको जनादेश पार्टीकी केन्द्रीय सदस्य जश्मिन ओझाले बताएकी छन्।


घोषणापत्र समितिको संयोजकको जिम्मेवारी प्रदान गरेकोमा पार्टी सभापति रमण कुमार कर्ण लगायत केन्द्रीय समितिप्रति कृतज्ञता व्यक्त गर्दै ओझाले भनिन्, “पार्टीले ममाथि गरेको विश्वास मेरो लागि ठूलो सम्मान र प्रेरणा हो।”


आफू जेन–जी पुस्ताकी महिला भएको उल्लेख गर्दै उनले नेतृत्व तहमा युवापुस्ताको प्रतिनिधित्व गर्दै आफ्ना विचार, ऊर्जा र दृष्टिकोणलाई संस्थागत रूपमा प्रस्तुत गर्न पाउनु जीवनकै महत्वपूर्ण अवसर बनेको बताइन्। उनका अनुसार यो अनुभवले व्यक्तिगत आत्मविश्वास मात्र होइन, युवापुस्ताको क्षमता र महिलाको नेतृत्वप्रतिको विश्वासलाई पनि सुदृढ बनाएको छ।


घोषणापत्र निर्माण प्रक्रियामा समितिका सदस्य विपलवी न्यौपाने र संजिव सापकोटासँगको सहकार्यलाई उनले विशेष रूपमा स्मरण गरिन्। उनीहरूको अध्ययनशीलता, रचनात्मक सुझाव र निरन्तर सहयोगले दस्तावेजलाई व्यवहारिक र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुगेको उनले उल्लेख गरिन्।


ओझाका अनुसार घोषणापत्र तयारीको यो यात्राले सहकार्य, धैर्यता, अनुसन्धान, दूरदृष्टि र जिम्मेवारीको वास्तविक अर्थ सिकाएको छ। “हरेक छलफल, सुझाव र आलोचनाले मलाई अझ परिपक्व बनायो,” उनले भनिन्।


सम्पूर्ण अग्रज, सहकर्मी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनहरूमा पनि यही ऊर्जा र प्रतिबद्धताका साथ अघि बढ्ने दृढ संकल्प व्यक्त गरेकी छन्।


जनादेश पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रस्तुत गरेको घोषणापत्रलाई युवामैत्री, समावेशी र परिवर्तनमुखी दस्तावेजका रूपमा हेरिएको छ।


प्रतिक्रिया