लोकतान्त्रिक मूल्य, एकता र सेवाभावलाई प्राथमिकता दिन चन्द्र धितालको आग्रह
अमेरिका— नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र धितालले लोकतान्त्रिक मूल्य–मान्यता, संस्थागत हित, एकता र सेवाभावलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।
धितालले आफ्नो सार्वजनिक सन्देशमार्फत पदभन्दा विचार, व्यक्तिभन्दा संस्था र संस्थाभन्दा लोकतान्त्रिक मूल्य–मान्यता महान् हुने उल्लेख गर्दै नेपाली कांग्रेसले बोकेको राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई व्यवहार, संगठन र समाजसेवामा उतार्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले प्रवासमा बस्ने नेपालीहरूले पनि मातृभूमिप्रतिको माया, लोकतन्त्रप्रतिको निष्ठा र नेपाली समुदायप्रतिको जिम्मेवारीलाई निरन्तर कायम राख्नुपर्ने बताएका छन्। नेपाली जनसम्पर्क समिति अमेरिका विचारको निरन्तरतासँगै नेपाली समुदायबीच सम्बन्ध, सहकार्य, सद्भाव र सेवाको साझा चौतारी बन्नुपर्ने उनको भनाइ छ।
धितालले संगठनभित्र विभाजनभन्दा एकता, गुटभन्दा सहकार्य, व्यक्तिगत स्वार्थभन्दा संस्थागत हित, भाषणभन्दा काम र पदको आकर्षणभन्दा सेवाको संस्कारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
उनले लोकतन्त्रमा फरक विचारको सम्मान, स्वस्थ प्रतिस्पर्धा र सबैलाई समेट्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै नेतृत्व भनेको अगाडि उभिनु मात्र नभई सबैलाई साथ लिएर अघि बढ्ने जिम्मेवारी भएको बताएका छन्।
लोकतान्त्रिक संस्कार, सहकार्य र सेवाभावलाई आफ्नो प्रतिबद्धताका रूपमा प्रस्तुत गर्दै धितालले नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी रहेको जानकारी दिएका छन्।