काठमाडौँ — डा. अबुल हुसेन अन्सारीले आगामी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता केपी ओलीप्रति सार्वजनिक समर्थन व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो विचार साझा गर्दै फागुन २१ का लागि भरोसाको पक्षमा उभिएको स्पष्ट पारेका छन्।
डा. अन्सारीले लेखेका छन्, “गल्ती खोज्ने धेरै भए, भरोसा गर्ने कम — म भरोसाको पक्षमा उभिएको छु।” उनले ओलीको नेतृत्वलाई राष्ट्रको स्वाभिमान र स्थिरताका लागि अडिग रहेको उल्लेख गर्दै आलोचना, अपमान र आरोपको बाबजुद पनि देशका लागि जिम्मेवारी लिने क्षमतालाई मूल्याङ्कन गरेका छन्।
उहाँका अनुसार देश फेरि निर्णयको मोडमा पुगेको अवस्थामा आरोपभन्दा भरोसा, भ्रमभन्दा स्थिरता र भीडभन्दा नेतृत्व आवश्यक छ। “म तपाईंको साथमा छु। यो साथ पद वा स्वार्थका लागि होइन, तर देशले सही दिशातर्फ कदम चालोस् भन्ने विश्वासका लागि हो,” अन्सारीले लेखेका छन्।
उनले इतिहासले आज होइन, भोलि मूल्याङ्कन गर्ने विश्वास व्यक्त गर्दै ओलीको अडानलाई नेपाली राजनीतिमा बेवास्ता नहुने दाबी गरेका छन्। डा. अन्सारीको यो अभिव्यक्तिले एमालेभित्र युवा नेतृत्व र कार्यकर्ताको विश्वास पुनः पुष्टि भएको संकेत दिन्छ।