काठमाडौं ।गैरआवासीय नेपाली संघ (Non-Resident Nepali Association) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को आगामी निर्वाचनका लागि युवा उपाध्यक्ष पदमा ओमन गौचन (ह्यान्सन) ले उम्मेदवारी घोषणा गरेका छन्। युवामाझ सक्रिय र ऊर्जावान अभियन्ताका रूपमा चिनिएका गौचन चुनावी मैदानमा उत्रिएसँगै प्रवासी नेपाली युवाबीच उनको नारा “एक विश्व–एक नेपाली परिवार” लोकप्रिय बन्दै गएको छ।
विश्वभर रहेका नेपाली युवालाई एकै सञ्जालमा जोड्दै सशक्त, एकीकृत र सहयोगी नेपाली समुदाय निर्माण गर्ने लक्ष्यसहित उनले उम्मेदवारी घोषणा गरेका हुन्। गौचनले युवाहरू केवल भविष्यका नेतृत्वकर्ता मात्र नभई वर्तमानकै परिवर्तनका वाहक भएको बताउँदै एनआरएनएलाई युवामैत्री, नवप्रवर्तनमुखी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले विश्वभर छरिएका नेपाली युवालाई जोड्न ग्लोबल युवा सञ्जाल निर्माण गर्ने, नेतृत्व विकास र मेन्टरशिप कार्यक्रम सञ्चालन गर्ने तथा युवाहरूका लागि व्यावसायिक अवसर सिर्जना गर्ने योजनासहित मैदानमा उत्रिएको बताएका छन्। साथै, नवप्रवर्तन, उद्यमशीलता र लगानी प्रवर्द्धनमार्फत युवालाई आर्थिक रूपमा सशक्त बनाउने उनको योजना रहेको छ।
गौचनले दोस्रो र तेस्रो पुस्ताका नेपाली युवामा नेपाली भाषा, संस्कृति र पहिचानप्रतिको गर्व बढाउने अभियान पनि सञ्चालन गर्ने बताएका छन्। त्यसका साथै आईसीसी, एनसीसी तथा विभिन्न देशका नेपाली समुदायबीच समन्वय बढाई कामको प्रभावकारिता सुनिश्चित गर्ने उनको प्रतिबद्धता छ।
उनले पारदर्शिता, जिम्मेवारी र परिणाममुखी नेतृत्वमार्फत एनआरएनएलाई अझ प्रभावकारी र विश्वसनीय संस्थाका रूपमा विकास गर्ने बताएका छन्। “सशक्त युवा बिना सशक्त एनआरएनए सम्भव छैन,” भन्दै उनले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षा नभई विश्वभर रहेका नेपाली युवाको एकता र उज्ज्वल भविष्यको अभियान भएको उल्लेख गरे।
गौचनले संसारभर रहेका नेपाली सञ्चारमाध्यम, संघसंस्था र समुदायलाई युवा केन्द्रित, एकीकृत र भविष्यमुखी एनआरएनए आईसीसी निर्माण अभियानमा साथ दिन आग्रह गरेका छन्।
उनको चुनावी नारा “एक विश्व, एक नेपाली परिवार — सशक्त, एकीकृत र उज्ज्वल भविष्य” अहिले प्रवासी नेपाली युवामाझ व्यापक रूपमा चर्चा र समर्थन बटुल्दै गएको छ।