हराइरहेका निम्सदाइको अन्तिम सन्देश: “मेरो उद्देश्य केवल आफ्ना सीमा तोड्नु थियो, सुरक्षित फर्किन मात्रै प्रार्थना गर्छु”
काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल “निम्सदाइ” पुर्जाले पाकिस्तान प्रस्थान गर्नुअघि सामाजिक सञ्जालमा लेखेको भावुक सन्देश अहिले व्यापक रूपमा चर्चामा छ। पाकिस्तानको ब्रोड पिक क्षेत्रमा सम्पर्कविहीन भएपछि जारी खोजी तथा उद्धार अभियानबीच उनको उक्त सन्देशले विश्वभरका शुभचिन्तकलाई भावुक बनाएको छ।
निम्सदाइले आफ्नो लक्ष्य सुरुवातमा केवल जी–२ (ग्यासरब्रुम–२) आरोहण गर्ने रहेको उल्लेख गर्दै, पछि ब्रोड पिक पनि सफलतापूर्वक आरोहण गर्न सके अक्सिजनको प्रयोग नगरी विश्वका १४ वटा ८,००० मिटरभन्दा अग्ला हिमाल दुई पटक आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्ने अवसर देखेपछि योजना परिवर्तन गरेको बताएका थिए।
उनले आफूले कहिल्यै अरूसँग प्रतिस्पर्धा नगरेको, हरेक दिन हिजोको आफ्नै क्षमताभन्दा राम्रो बन्ने प्रयास मात्र गरेको उल्लेख गर्दै आलोचना र अविश्वासलाई बेवास्ता गरेर आफ्नो यात्रालाई निरन्तर अघि बढाएको बताएका थिए।
सन्देशमा उनले पाकिस्तानका पाँचवटै ८,००० मिटरभन्दा अग्ला हिमाल २६ दिनमै अक्सिजनबिनै आरोहण गरेको उपलब्धि पनि स्मरण गरेका छन्। साथै, ब्रोड पिक आरोहणअघि उनले “मलाई केही चाहिएको छैन, केवल सुरक्षित रूपमा शिखर पुगेर फर्किन पाऊँ” भन्ने प्रार्थना व्यक्त गरेका थिए।
निम्सदाइले आफ्नो अभियान व्यक्तिगत कीर्तिमानका लागि नभई संसारभरका मानिसलाई आफ्नो-आफ्नो ‘हिमाल’ अर्थात् जीवनका चुनौतीहरू पार गर्न प्रेरित गर्ने उद्देश्यले अघि बढेको पनि उल्लेख गरेका थिए।
यता, पाकिस्तानको ब्रोड पिक क्षेत्रमा सम्पर्कविहीन भएका निम्सदाइको खोजी तथा उद्धार अभियान अझै जारी रहेको छ। उनी जीवित अवस्थामा फेला पर्ने आशा कायम राख्दै उद्धार टोलीले प्रतिकूल मौसम र कठिन हिमाली भूगोलबीच खोजी अभियान सञ्चालन गरिरहेको छ। हालसम्म उनको अवस्थाबारे आधिकारिक पुष्टि भएको छैन।
विश्वभर रहेका नेपालीसहित लाखौं शुभेच्छुकले निम्सदाइ सकुशल भेटिउन् भन्ने कामना गरिरहेका छन्।