एफएनसीसीआई निर्वाचनमा शोभा ज्ञवालीः निजी क्षेत्रको विश्वास संकट अन्त्य गर्ने प्रतिबद्धता

theoutsidenepal.com

एफएनसीसीआई निर्वाचनमा शोभा ज्ञवालीः निजी क्षेत्रको विश्वास संकट अन्त्य गर्ने प्रतिबद्धता


काठमाडौं — नेपाल रिपब्लिक मिडिया की अध्यक्ष शोभा ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा एसोसिएटतर्फ कार्यकारिणी सदस्य पदकी उम्मेदवार बनेकी छन्। उनी ज्योत्सना श्रेष्ठ नेतृत्वको टिमबाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन्।


नीति ३६५ डटकमका निर्देशक वासुदेव न्यौपाने सँगको कुराकानीमा ज्ञवालीले वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रका चुनौती र आफ्नो भावी योजना स्पष्ट रूपमा राखेकी छन्।


उनका अनुसार अहिले निजी क्षेत्र “विश्वासको संकट” बाट गुज्रिरहेको छ। सरकार र व्यवसायीबीच सहकार्य कमजोर हुँदा आर्थिक गतिविधि प्रभावित भएको उनले बताइन्। “नीति तथा नियमहरू व्यवसायमैत्री छैनन्, जसले लगानीको वातावरणलाई प्रभावित बनाएको छ,” उनले भनिन्। सम्पत्ति शुद्धीकरणजस्ता विषयमा व्यवसायीहरू दबाबमा परेको उल्लेख गर्दै उनले निष्पक्ष र प्रमाणमा आधारित कार्यान्वयन आवश्यक रहेको धारणा राखिन्।


महिला उद्यमशीलताको सन्दर्भमा उनले पछिल्लो दशकमा उल्लेखनीय सुधार भए पनि अझै चुनौती कायम रहेको बताइन्। “महिलाहरूको आर्थिक सहभागिता बढेको छ, तर शिक्षा, वित्तीय पहुँच र सीपको अभाव अझै बाधक बनेको छ,” उनले भनिन्। ग्रामीण क्षेत्रमा सामाजिक अवरोध समेत रहेको उल्लेख गर्दै उनले सहुलियतपूर्ण ऋण, सीप विकास तालिम र ‘सीड मनी’ कार्यक्रम आवश्यक रहेको बताइन्।


सरकार–निजी क्षेत्र सहकार्य सुधारका लागि नियमित संवाद, व्यवसायमैत्री कर प्रणाली, लगानी सुरक्षा र सरल प्रशासनिक प्रक्रिया आवश्यक रहेको उनले जोड दिइन्। उद्योग, कृषि, पर्यटन र जलविद्युत् क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै दीर्घकालीन नीति आवश्यक रहेको धारणा राखिन्।


निजी मिडियामा सरकारी विज्ञापन वितरण पारदर्शी नभएको गुनासो गर्दै ज्ञवालीले यसले मिडियाको दिगोपनामा असर परेको बताइन्। “मिडिया लोकतन्त्रको आधार हो, त्यसैले समान अवसर र पारदर्शिता सुनिश्चित हुनुपर्छ,” उनले भनिन्।


आफू निर्वाचित भए व्यवसायीहरूको आवाज सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाउँदै उनले विशेषगरी महिला उद्यमीहरूका लागि वित्तीय पहुँच, बजार विस्तार र सीप विकासमा काम गर्ने योजना रहेको बताइन्। “लोकल टु ग्लोबल अवधारणालाई अघि बढाउँदै निर्यातमुखी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य छ,” उनले भनिन्।


ज्ञवालीले निजी क्षेत्र र सरकारबीच पुलको भूमिका निर्वाह गर्दै लगानीमैत्री वातावरण निर्माणमा योगदान दिने संकल्पसमेत व्यक्त गरेकी छन्।


प्रतिक्रिया