सुजन बिकको न्यायको गुहारपछि गृहमन्त्री सुधन गुरुङको तत्काल पहल, छानबिन समिति गठनको निर्देशन
काठमाडौं— विगत तीन महिनादेखि आफ्नी दिवंगत श्रीमतीको न्यायका लागि राजधानीका सडकमा धर्ना दिँदै आएका चितवन रत्ननगर नगरपालिकाका सुजन बिकले अन्ततः सिंहदरबारभित्र गृहमन्त्री सुधन गुरुङ सँग भेट गरी आफ्नो पीडा र माग प्रस्तुत गर्नुभएको छ।
गृहमन्त्री गुरुङले मन्त्रालयमै बोलाएर भेट्नुभएको उक्त भेटघाटका क्रममा सुजन बिक आफ्नो काखमा नवजात शिशु बोकेर न्यायको याचना गर्दै कार्यकक्षमा पुग्नुभएको थियो। भेटका क्रममा उहाँले श्रीमतीको मृत्यु अस्पतालको गम्भीर लापरवाहीका कारण भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्नुभयो।
भावुक वातावरणमा भएको भेटमा सुजन बिकले सुत्केरी अवस्थामै अस्पतालले आवश्यक उपचार र हेरचाह नगर्दा आफ्नी श्रीमती गुमाउनुपरेको बताउनुभयो। साथै, आमाको माया र संरक्षणबाट वञ्चित भएको नवजात शिशुको भविष्यप्रति चिन्ता व्यक्त गर्दै राज्यसँग न्यायको अपेक्षा राख्नुभयो।
पीडित पिता र नवजात शिशुको कारुणिक अवस्था देखेर गृहमन्त्री गुरुङ समेत भावुक बन्नुभएको बताइएको छ। परिवारको सम्पूर्ण गुनासो र पीडा ध्यानपूर्वक सुनेपछि उहाँले तत्काल आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ।
“राज्य नागरिकको अभिभावक हो। अस्पतालको लापरवाहीका कारण कसैले ज्यान गुमाउनुपर्ने अवस्था आउनु अत्यन्त दुःखद् विषय हो। यस घटनाको गहिरो छानबिन गरिनेछ र दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइनेछ,” गृहमन्त्री गुरुङले बताउनुभयो।
भेटलगत्तै गृहमन्त्रीले मन्त्रालयका सम्बन्धित अधिकारीहरूलाई घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको छ। छानबिनबाट दोषी प्रमाणित हुने व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।
न्यायको खोजीमा महिनौँदेखि संघर्षरत सुजन बिकको आवाज अब राज्यको उच्च तहसम्म पुगेको छ। गृहमन्त्रीको सक्रियतापछि घटनाको निष्पक्ष छानबिन र पीडित परिवारले न्याय पाउने अपेक्षा बलियो बनेको छ।