अध्यक्ष रविन्द्र श्रेष्ठको नेतृत्वमा FNJ Global Media Conference Japan 2026 को तयारी तीव्र
टोकियो, जापान | नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठको नेतृत्वमा आगामी जुलाई २५ मा टोकियोमा आयोजना हुने FNJ Global Media Conference Japan 2026 को तयारी तीव्र रूपमा अघि बढाइएको छ।
सम्मेलनको तयारीका लागि आयोजित बैठक सम्पन्न भएको छ। बैठकपछि सहभागीहरूले सामूहिक तस्बिर खिचाएका थिए। अध्यक्ष श्रेष्ठको नेतृत्वमा सम्पन्न बैठकले सम्मेलनलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन विभिन्न उपसमितिहरू गठन गर्दै जिम्मेवारी बाँडफाँट गरेको छ। साथै तयारीका सम्पूर्ण कार्यलाई द्रुत गतिमा अघि बढाउने निर्णय पनि गरिएको छ।
आयोजकका अनुसार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय कार्यसमितिका करिब तीन दर्जन पत्रकारहरूको सहभागिता सुनिश्चित भइसकेको छ। त्यस्तै महासंघका युरोप, अमेरिका तथा विभिन्न एशियाली मुलुकस्थित वैदेशिक शाखाहरूबाट पनि दर्जनौँ पत्रकारहरूको सहभागिता रहनेछ।
विश्वभर रहेका नेपाली पत्रकारहरूबीच अनुभव आदान–प्रदान, व्यावसायिक सहकार्य विस्तार तथा समसामयिक पत्रकारिता सम्बन्धी विषयमा व्यापक छलफल गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यस सम्मेलनलाई नेपाल पत्रकार महासंघ जापान शाखाले ऐतिहासिक र भव्य बनाउने तयारी गरिरहेको जनाएको छ।