Non-Resident Nepali Association (एनआरएनए) अन्तर्गत राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष कृष्ण पन्थीले एनआरएनए आइसीसीले मध्यपूर्व क्षेत्रलाई जहिल्यै पनि ‘भोट बैंक’ का रूपमा प्रयोग गर्दै आएको आरोप लगाएका छन्।
पन्थीले मध्यपूर्व क्षेत्रमा हाल विषम परिस्थिति कायम रहेका बेला पनि आइसीसी प्रतिनिधि (डेलिगेट्स) चयन प्रक्रियामै केन्द्रित रहनुले उक्त आरोप पुष्टि गरेको दाबी गरे। उनका अनुसार, “एनआरएन आइसीसीले मध्यपूर्वलाई सधैं भोट बैंकका रूपमा प्रयोग गर्दै आएको कुरा हामीले बारम्बार सुन्दै आएका थियौं। अहिले मध्यपूर्वमा गम्भीर परिस्थिति चलिरहेको अवस्थामा पनि उहाँहरू डेलिगेट्स फाइनल गर्ने, कोही छुटेमा छिटो पठाउनुस् भन्ने जस्ता विषयमै केन्द्रित देखिनु दुःखद हो।”
उनले डेलिगेट्स चयनमै रुमलिनुले एनआरएनएले मध्यपूर्वलाई हेर्ने दृष्टिकोण स्पष्ट भएको उल्लेख गरे। “साँच्चिकै एनआरएनएले मध्यपूर्वलाई कसरी हेर्छ भन्ने कुरा अहिलेको कार्यशैलीले प्रमाणित गरेको छ,” पन्थीले भने।
पन्थीका अनुसार, मध्यपूर्वमा कार्यरत लाखौं नेपाली श्रमिकहरूको भावना र सुरक्षालाई प्राथमिकता दिनुको सट्टा अधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न आतुर देखिनु खेदजनक हो। “२०–२१ लाख नेपाली श्रमिकहरू प्रभावित हुनसक्ने अवस्था छ। परिस्थिति थप जटिल बनेमा अन्य देशहरूसँगै वा त्योभन्दा अगाडि नै सुरक्षित पुनरागमनको अवस्था आउन सक्छ,” उनले चेतावनी दिए।
उनले यस्तो अवस्थामा नेपाल सरकारसँग समन्वय गरी स्पष्ट मेकानिजम बनाउनु आवश्यक रहेको बताए। “सरकारसँग समन्वय गरेर आपत्कालीन योजना तयार गर्नुपर्नेमा खाली डेलिगेट्सकै चर्चा हुनु दुर्भाग्यपूर्ण हो,” पन्थीले जोड दिए।
मध्यपूर्वमा कार्यरत नेपालीहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै एनआरएनए आइसीसीले संवेदनशील निर्णय लिनुपर्ने उनको माग छ।