प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट
वरीयता मिचिएको दाबी गर्दै निर्णय बदर गर्न माग
काठमाडौं । प्रधानन्यायाधीश पदमा डा. मनोजकुमार शर्मा सिफारिस गरिएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल तथा डा. प्रेम सिलवाल ले भिन्दाभिन्दै रिट निवेदन दायर गरेका हुन् ।
रिट निवेदनमा संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीश सिफारिसको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्न तथा प्रथम वरीयतामा रहेका व्यक्तिलाई सिफारिस गर्न परमादेश जारी गर्न माग गरिएको छ ।
बिहीबार बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
यसअघि गएको फागुन २६ गते न्याय परिषद्ले प्रधानन्यायाधीश पदका लागि ६ जनाको नाम सिफारिस गरेको थियो । सिफारिस सूचीमा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका थिए ।
उक्त सूचीमा डा. शर्मा चौथो वरीयतामा रहे पनि संवैधानिक परिषद्ले उनलाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि न्यायिक तथा राजनीतिक वृत्तमा बहस सुरु भएको छ ।
नेपालको संविधानले वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउनुपर्ने बाध्यकारी व्यवस्था नगरे पनि लामो समयदेखि वरिष्ठताको अभ्यास हुँदै आएको छ । यही विषयलाई आधार बनाएर सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।