धरान, १ फागुन – कोशी प्रदेश सभाकी सदस्य मिना श्रेष्ठ ले सामाजिक सञ्जालमा महिला नेतृत्वमाथि बढ्दो अभद्र व्यवहार र चरित्र हत्या नियन्त्रण गर्न सरकार र सम्बन्धित निकायलाई जोडदार आग्रह गर्नुभएको छ।
सभामा शुक्रवार बोल्दै श्रेष्ठले सामाजिक सञ्जालमा फेक आइडी वा विभिन्न नामबाट महिला नेताहरूलाई लक्षित गर्दै अश्लील गाली गलौज र चरित्र हत्या गर्ने प्रवृत्ति तीव्र रूपमा बढिरहेको उल्लेख गर्नुभयो। उहाँले आफू पनि यस प्रकारको आक्रमणको शिकार भइसकेको जिकिर गर्नुभयो।
श्रेष्ठले यसलाई व्यक्तिगत पीडा मात्र नभई समग्र महिला नेतृत्व र लोकतन्त्रको मर्यादामा प्रहारको रूपमा व्याख्या गर्दै, विचारको असहमति लोकतन्त्रको सौन्दर्य भए पनि त्यसको नाममा लैङ्गिक हिंसा र अश्लीलता स्वीकार्य नहुने चेतावनी दिनुभयो।
उहाँले फेक आइडीमार्फत महिला नेताहरूलाई लक्षित गर्ने व्यक्तिहरूको पहिचान गरी तत्काल कारबाही गर्न, साइबर अपराध नियन्त्रण सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन गर्न, र महिला नेतृत्वमाथि हुने अनलाइन हिंसाविरुद्ध स्पष्ट नीतिगत तथा संरचनागत व्यवस्था गर्न आग्रह गर्नुभएको छ।
यसैबीच, प्रख्यात कलाकार नविना सिलवाल ले पनि आफ्नो फेसबुक पेजमा हालै सार्वजनिक गरेको स्टाटसमा केही व्यक्तिहरूले उनका पोस्टमा अश्लील र अनुचित फोटोहरू बनाउने प्रयास गरेको भन्दै स्पष्ट प्रतिक्रिया दिएकी छन्। सिलवालले आफ्नो व्यक्तिगत अनुभवमार्फत यस्तो अनलाइन हिंसा केवल व्यक्तिगत मात्रै नभई समग्र महिलामाथि हुने आक्रमणको संकेत भएको बताएकी छिन्।
श्रेष्ठ र सिलवाल दुवैले सबै राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमलाई अपिल गर्दै, महिला नेतृत्वमाथि हुने अनलाइन हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन आव्हान गर्नुभएको छ।
श्रेष्ठको भनाइअनुसार, “महिला हुनु कमजोरी होइन, नेतृत्व गर्नु अपराध होइन। डराएर गाली गरेर वा चरित्र हत्या गरेर अनलाइन पोष्टलाई नियन्त्रण गर्न सकिँदैन। यस विषयलाई गम्भीरतासाथ लिएर दोषीमाथि कडा कारबाही गरी महिला नेतृत्वको सम्मान, सुरक्षा र गरिमा सुनिश्चित गर्न आवश्यक छ।”