नेपाल–कोरिया उद्यमी व्यवसायी संघको नियमित बैठक सम्पन्न, सहकार्य र लगानी विस्तारमा जोड
नेपाल–कोरिया उद्यमी व्यवसायी संघको नियमित बैठक आज सफलतापूर्वक सम्पन्न भएको छ। बैठकमा संघका वर्तमान गतिविधि, आगामी योजना, व्यवसायिक सम्भावना, लगानी प्रवर्द्धन तथा आपसी सहकार्यका विविध विषयमा सकारात्मक र फलदायी छलफल भएको बताइएको छ।
एनआरएनए आईसीसीकी सह–कोषाध्यक्ष गंगा खतिवडा ले सामाजिक सञ्जालमार्फत बैठकबारे जानकारी दिँदै संघलाई अझ प्रभावकारी, सशक्त र व्यवस्थित बनाउने दिशामा सदस्यहरू प्रतिबद्ध रहेको उल्लेख गरेकी छन्।
बैठकमा नेपाल र दक्षिण कोरियाबीच व्यापार, लगानी तथा उद्यमशीलताको क्षेत्रलाई थप विस्तार गर्ने विषयमा विशेष जोड दिइएको थियो। सहभागी व्यवसायीहरूले आपसी सहकार्य, एकता तथा नेटवर्क विस्तारमार्फत नयाँ व्यवसायिक अवसर सिर्जना गर्नुपर्ने धारणा राखेका थिए।
संघले आगामी दिनमा नेपाली उद्यमीहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा सदस्यहरूबीच व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्यसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।